गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गाको विवाद स्पष्ट पार्न सत्तारुढ सांसदकाे माग

 पुस ७, २०७६ सोमबार १४:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । 

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानकासाथ राख्न नसकेकोमा आलोचना गर्नुभएको हो ।

उहाँले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो ‘सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौँ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।’

नेपालको भूभाग मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सीमामा धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोख्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा किर्तिमान कायम गरेको दाबी पनि गर्नुभयो ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएकाे छ ।

सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो ‘खास गरी गोकर्ण रिसोर्ट र नारायणहिटी संग्राहलय अगाडि दरबारमार्गमा रहेको जग्गाको भोगाधिकार सम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ । आलोचना र विवाद बाहिर आईसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । तसर्थ यी विषयमा सदनलाई जानकारी गराईयोस् ।’

विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उहाँले सीमाको विषयमा स्पष्ट अडान लिएको भन्दै सरकारको बचाउ गर्नुभयो । अपराध मुक्तको बाटोमा देश अघि बढेको दाबी गर्दै उहाँले पैसाले कानून र न्यायलाई किनेर उम्कने अवस्था नरहेकाले उच्च ओहदामा बस्नेहरुले पनि नैतिक मुल्यमा आधारित भएर राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भए पनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषणमा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो ।

विभेद र भ्रष्ट्राचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म देश सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूल-ठूला भ्रष्टाचारको काण्ड भएको दाबी गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया