'नारायणहिटी दरबारलाई पनि आलिसान होटलमा परिणत गर्न भाडामा दिए भैगो नि !'

 पुस ७, २०७६ सोमबार १६:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ । 

राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य अधिकारीले ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र त्यही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका उब्जाएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको हो ।

नेपाल ट्रष्टसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफलकै क्रममा बदनियतपूर्वक आएको र नीतिगत भ्रष्टाचारको मुहान खोल्ने र विधेयकमा समर्थन गर्नेहरु सबैले नीतिगत भ्रष्टाचार गरेको ठहर हुनेछ भनेर रोष्ट्रमबाटै भनेको स्मरण गराउदै उहाँले नेपाल ट्रष्टको सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चेतावनी दिनुभयो ।

ट्रष्टसम्बन्धी कानुनमा ट्रष्टको सम्पत्तिमा हकाधिकार र भोगाधिकार पनि बन्देज गरिएकोमा त्यसको अपचलन गर्ने मनसायका साथ विगतमा कानुन संशाेधन गरिएको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, 'साविक कानुन बमोजिम नेपाल ट्रष्टको सम्पत्ति व्यवसायिक प्रयोजनका लागि दिने अवस्था थिएन तर नेपाल ट्रष्टमाथि हक जमाउन खोज्ने गिद्धे दृष्टिलाई यो असैह्य थियो । उनीहरु यति शक्तिशाली थिए कि तिनले शत्ताको बागडोर लिएको पार्टीलाई नै कानुन संशोधन गर्न बाध्य पारे । जब व्यवसाय र सरकारबीचको लक्ष्मण रेखा मेटिन्छ, भ्रष्टाचार त्यही मौलाउँछ ।'

उहाँले भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीको भनाइ र गराइमा भिन्नता देखिएको भन्दै ट्रष्टको जग्गा विवादमा प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको संलग्नताको आशंका उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,'“म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइको जग हसाइ भएको छ । सत्तामा बस्दा जनता के सोच्दछन् ? के भन्दछन् ? सायद प्रधानमन्त्रीज्यूलाई थाहा नहुन सक्दछ । त्यसैले सदनमार्फत म जनप्रतिनिधिका हैसियतमा सरकारलाई खबरदारी गर्न चाहन्छु । नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ ।'

लगातार सञ्चारमाध्यममा आइरहँदा प्रतिवाद गर्ने, जनतालाई आश्वस्त पार्ने काम सरकारबाट नभएको भन्दै उहाँले सदनमा सत्ता पक्षकै सांसदले त्यसबारे स्पष्ट धारणा माग्दा समेत सरकार चुप बस्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'व्यवसायिक प्रतिष्ठान जो स्वयंकाे हितमा सम्झौता भएको छ । तिनै व्यवसायिक प्रतिष्ठानसँग सम्बन्धित व्यक्ति नेपाल ट्रष्टका ट्रष्टी बनेका छन् । दुधको साझी बिरालाे, यसैलाई भन्छन् नेपालमा ।'

व्यवसायिक प्रयोजनका लागि नेपाल ट्रष्टको जग्गा दिन सकिने कानुन बन्नुअघि नै दरबारमार्गको १ रोपनी १४ आना जग्गा नेपाल ट्रष्टका ट्रष्टीहरुले व्यापारिक प्रतिष्ठानलाई दिएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, 'समाचारमा थप जनाइएको छ । नारायणहिटी राजदरबारको विदेशी पाहुनालाई सत्कार कक्षमा रेष्टुराँ खोल्न यसै व्यवसायिक प्रतिष्ठानलाई दिन कसरत चल्दै छ । किन रेष्टुराँ मात्रै खोल्ने ? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भैगो नि ।'

उहाँले गोकर्ण रिसोर्टलाई लिजको म्याद थप्नुको औचित्य पुष्टि गर्न पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया