पुलिसमाथि थ्रीस्टारकाे कठिन जित, लिगमा पहिलाे जित

 पुस ७, २०७६ सोमबार १७:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित निकालेको छ ।

साेमबार दशरथ रंगशालामा भएकाे खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि एक–शून्यको कठिन जित निकाल्दै थ्रीस्टारले लिगमा पहिलो तीन अंक बटुल्यो ।

थ्रीस्टारले खेलको अन्तिममा गोल गर्दै पुलिसको चुनौती पन्छ्यायो । पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ८६ औं मिनेटमा थ्रीस्टारले गोल गर्न सफल भयो । यसपटक खासै राम्रो टिम बन्न नसकेको पुलिसविरुद्ध सुसन श्रेष्ठको पासमा सुशील राईले गोल गरे ।

खेल अवधिभर थ्रीस्टारले पुलिसलाई दबाबमा राखेको थियो । खेलको ४६औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार पुलिसका गोलकिपरले रोके । रिवाउन्डमा सुसानको प्रहार अजितले रोके । ५३औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोस्टकाे नजिकैबाट बाहिरियो ।

५४औं मिनेटमा थ्री स्टारका कप्तान विक्रम लामाको हेडरले पनि सही दिशा लिन सकेन । अर्को मिनेटमा पुलिसका सुमन लामा वान भर्सेस वानमा चुक्न पुगे । जसमा थ्री स्टारका गोलरक्षक प्रिसो बाधक बने ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि थ्रीस्टारको दुई खेलमा चार अंक भएको छ भने पुलिसको एक अंक छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया