बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण, बिदा छैन : गृह मन्त्रालय

 पुस ७, २०७६ सोमबार १८:३८:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उहाँले बताउनुभयाे । ग्रहणका बेला खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

बिदा छैन : गृह

यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया