काठमाण्डाैमा 'स्वाइन फ्लु' र 'हङकङ फ्लु' सार्ने इन्फ्लुएन्जा 'ए' को सङ्क्रमण देखियाे, सचेत रहन चिकित्सककाे सुझाव

 पुस ८, २०७६ मंगलबार ११:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा 'ए' को सङ्क्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा 'ए' भएको पुष्टि भएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो ।

ती किशोरलाई स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको भए पनि यीमध्ये कुन चाहिँ फ्लु भएकाे हाे भन्ने टुङ्गो लाग्न बाँकी छ । परीक्षणको थप रिपोर्ट आएपछि यो पनि थाहा हुने डाक्टर पुनले जानकारी दिनुभयो । स्वाइन फ्लु 'एन वन एच वन' विषाणुका कारण हुने गर्छ ।

स्वाइन फ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी, शरीर तथा टाउको दुख्ने, काँप्ने, अल्छी लाग्ने, कसैकसैलाई झाडापखाला र बान्ता हुने, अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भइ निमोनिया भएर बिरामीको ज्यानै जानसक्ने डाक्टर पुनले सचेत गराउनुभयाे । 

यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने नसर्ने उहाँले बताउनुभयो । यो रोग मानिसमा लक्षण देखाउनुभन्दा एक दिन अगाडिबाट सात दिनसम्म सार्न सक्ने डाक्टरको भनाइ छ । स्वाइन फ्लु र हङकङ फ्लु सर्ने भएकाले बिरामीको स्याहार गर्नेले पनि सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै खोक्दा या हाच्छियुँ गर्दा नाक र मुख सफा रुमाल, कपडा वा पाखुराले छोप्ने, सही तरिकाले साबुनपानीले हातमुख धुने, हात नमिलाउने तर नमस्कर गर्ने, संक्रमित व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम राख्ने गर्नाले पनि बच्न सकिने डाक्टरले बताएका छन् । 

यस्तै अहिले मौसमी रुघाखोकी र फ्लुका बिरामी बढेकाले सावधानी अपनाउन पनि डाक्टरले आग्रह गरेका छन् । मौसमी रुघाखोकी र फ्लुकाे लक्षण उस्तै भए पनि फ्लु लागेका बिरामीले डाक्टरको सल्लाहअनुसार औषधि खानैपर्ने तर मौसमी रुघाखोकी लागेका बिरामीले घरमै आराम गरेर झोलिलो खानेकुरा खाँदा निको हुने डाक्टर शेरबहादुर पुनको भनाइ छ ।

मौसम परिवर्तनको समयमा सक्रिय हुने इन्फ्लुएन्जा नामक भाइरसका कारण रुघाखोकीका बिरामी बढेका अर्का डाक्टर प्रशान्त त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार रुघाखोकी, ज्वरो लगायतका समस्यालाई फ्लु भनिन्छ । फ्लु भएका बिरामीलाई सामान्यतया एक हप्तासम्म नागबाट सिँगान बग्ने, घाँटी–टाउको दुख्ने, ज्वरो आउने भएकाले सिटामोल खाएर न्यानो भएर बस्न र तातो झोलिलो कुरा खान उहाँको सुझाव छ ।

फ्लुले संक्रमण गरेपछि एक हप्तासम्म नछाड्ने भएकाले रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने, भिडभाडमा नजाने, जानै परे मास्क लगाउने, सार्वजनिक ठाउँमा गएका बेला अनावश्यक ठाउँमा नछुने, साबुनपानीले सफासँग हात धुने गर्नाले पनि रुघाखोकीबाट जोगिन सकिने उहाँको भनइ छ । तर सामान्य भनेर हेलचक्र्‍याइँ गर्दा स्वाइन फ्लु, हङकङ फ्लु पनि हुनसक्ने भएकाले उपचार गराएर आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।

यस्तै बालबालिका, वृद्धवृद्धा, दम, मधुमेह लगायतका समस्या भएका दीर्घरोगीलाई रुघाखोकीले छिट्टै समात्ने भएकाले विशेष ख्याल गर्न उनीहरुको जोड छ । सामान्य फ्लुले पनि श्वासप्रश्वासमा समस्या पारेर निमोनिया गराउने भएकाले पनि सचेत भने हुनुपर्ने सरुवा रोग विशेषज्ञ डाक्टर पुनले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया