झारखण्डमा 'डबल इन्जिन' काे सरकार बनाउने बीजेपीकाे याेजना फेल, माेदी र अमित शाहले पाठ सिक्लान् !

 पुस ८, २०७६ मंगलबार १२:५५:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रघुबर दासले झारखण्डको विधान सभा निर्वाचनको प्रचारका बेला भनेका थिए, ‘फेरि पनि ‘डबल इन्जिन’ को सरकार बनाउँछौँ ।’ ‘डबल इन्जिन’ अर्थात् केन्द्र र राज्य दुवैमा भारतीय जनता पार्टी (बीजेपी) को शासन ।   

तर झारखण्डका जनताले महागठबन्धन–जेएमएम (झारखण्ड मुक्ति मोर्चा), कांग्रेस र राजद (राष्ट्रिय जनता दल) लाई समर्थन गरेका छन् । कुल ८१ विधानसभा सिट रहेको झारखण्डमा ६५ सिट जित्ने मुख्यमन्त्री रघुबर दासको दाबी गलत साबित भयो । लगातार पाँच पटकसम्म मुख्यमन्त्री बनेका बीजेपीका रघुबरकोे सत्ता मात्रै पल्टिएन, आफ्नै निर्वाचन क्षेत्र जोगाउन पनि उनी असफल भए । 

झारखण्ड मात्रै होइन, गएको एक वर्षमा भएका राज्य चुनावमा बीजेपी पाँच वटा राज्यमा सरकार बनाउन असफल भएको छ । 

झारखण्डमा बीजेपीको हारको कारण र सन्देश– 

मुख्यमन्त्री दासको अलोकप्रियता

भाजपाबाट मुख्यमन्त्री बनेका रघुबर दासको लोकप्रियता घट्नु पनि भाजपा पराजित हुनुको मुख्य कारण हो । झारखण्डका जनताले रघुबर दासकै नेतृत्वमा रहेको राज्य सरकारको काम कारबाहीलाई मूल्याङ्कन गरेर मत दिएका हुन् ।

जमशेदपुर पूर्वका ८६ अवैध बस्तीलाई नियमित बनाउने सन्दर्भमा विवादमा तानिएपछि मुख्यमन्त्री रघुबर दास नेतृत्वको सरकार आलोचित भएको हो । सन् १९९५ देखि लगातार विधान सभा निर्वाचनमा जित हासिल गर्दै आएका रघुबर दास स्वयं नै यो निर्वाचनमा पराजित भए ।

आदिवासीको असन्तुष्टि

झारखण्डमा जल, जंगल र जमिनको सवालमा आदिवासीहरु रघुबर दास नेतृत्वको सरकारसँग असन्तुष्ट थिए । राज्यमा उद्योगका लागि भूमि बैंक बनाउन लागिएको थियो । आदिवासीहरु त्यो जमिनलाई आफ्नो मान्दै आएका थिए ।   

मतगणनाको अन्तिम नतिजाअनुसार विपक्षी झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र भारतीय राष्ट्रिय का‌ंग्रेस गठबन्धनले ४७ सिट जितेका छन् भने सत्तारुढ दल भाजपा २५ सिटमै सीमित भएको छ । अन्य दलले ९ सिट जितेका छन् ।

आक्रामक विपक्षी 

भाजपाका शीर्ष नेताहरु सानदार शैलीमा चुनावी प्रचारमा जुटेका थिए । तर विपक्षी गठबन्धनले त्यसको ठिक विपरीत ‘गुरिल्ला’ शैलीमा आक्रामक चुनावी कार्यक्रम गरिरहेका थिए । उनीहरुले ठूलो सभा आयोजना गरेनन् । सुदूर क्षेत्रमा पुगेर उनीहरु छुट्टाछुट्टै किसिमले चुनावी प्रचार गरिरहेका हुन्थे, यदाकदामात्र विपक्षी गठबन्धनले मञ्च साझा गरेका थिए ।

राष्ट्रिय मुद्दाले थिचिएको स्थानीय माग

झारखण्ड चुनावको क्रममा बीजेपी नेताहरुले अयोध्या विवादमाथि सर्वोच्च अदालतको फैसलाबारे खुलेर बोले । भव्य राम मन्दिर बनाउने आश्वासन दिएर मतदाताको मन जित्ने प्रयत्न गरे । तर यता झारखण्ड मुक्ति मोचौले स्थानीय माग उठाए । जनताले राष्ट्रियभन्दा पनि स्थानीय माग रुचाए । जसको कारण झारखण्डमा बीजेपी सत्ताच्युत हुन पुग्यो । 

आपसी कलहबाट माथि उठ्नुपर्ने

झारखण्डदेखि लिएर महाराष्ट्र, राजस्थान र छत्तीसगढको चुनावमा बीजेपीको संगठनमाथि नै प्रश्न उठिरहे । धेरै ठाउँमा बीजेपीको उम्मेदवार चयनमा विवाद उत्पन्न भयो र बागी उम्मेदवार धेरै भए । जसले बीजेपीको भोट काटियो । अब आन्तरिक विवादलाई समाधान गर्नुपर्ने मोदी र बीजेपीलाई चुनौती थपिएको छ ।  
वरिष्ठ पत्रकार शेखर अय्यर भन्छन्, ‘राष्ट्रियस्तरमा बीजेपी मोदीको जुन चमक छ, त्यसले मात्रै भोट तान्न सकिँदैन । स्थानीयस्तरमा पार्टी कमजोर छ र जनताका स्थानीय मुद्दा उठाउनुहुन्न भने हार त निश्चित हुन्छ ।’ 

बीजेपीको घमण्ड नै हारको प्रमुख कारण

वरिष्ठ पत्रकार स्मिता गुप्ताका अनुसार प्रदेशस्तरमा बीजेपीका नेताहरुको शैलीमा एक  किसिमको घमण्डले गर्दा पनि यो नतिजा आएको हो । उनी भन्छिन्, ‘जब स्थानीय सवाल आउँथ्यो, बीजेपीका नेताहरु एक किसिमको घमण्डी भाव देखाउँथे । उनीहरु आपसी असहमतिलाई हटाउन कोसिस नै गर्दैनथे । तर विपक्षी दल हरकिसिमका सहमति बनाउने प्रयत्न गर्थे ।’ 

आउँदो महिना दिल्ली, बिहार र पश्चिम बंगालमा समेत निर्वाचन हुँदैछ । अन्य राज्य निर्वाचनमा मिलेको हारले बीजेपीलाई सन्देश दियो कि दिएन भन्ने कुरा पनि त्यसले बताउने छ  ।    

(बीबीसी हिन्दी)

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया