सागमा टिम इभेन्टतर्फ रजत र कांस्य जितेका खेलाडीले कहिले पुरस्कार पाउँछन् ?

 पुस ९, २०७६ बुधबार १२:३६:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भर्खरै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । 

सागमा टिम इभेन्टतर्फ रजत र कांस्य जितेका खेलाडीका लागि अहिलेसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले आपत्ति जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गर्नुभएको थियो । 

व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई नौ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । 

सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरे पनि रजत र कांस्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । १३औँ साग सकिएको दुई हप्ता पुगिसक्दा पनि त्यसबारे सरकारले निर्णय गरेको छैन । 

‘टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छाैँ’, सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेको स्मरण गराउँदै उहाँले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । 

नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २०६ पदक जितेको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया