गैरकानुनी हैसियतमा मलेसियामा बसेकालाई घर फर्कने अवसर अब ६ दिन बाँकी

 पुस ९, २०७६ बुधबार १७:२५:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ मलेसियामा अवैधानिक हैसितमा काम गरिरहनुभएको छ । छ भने मलेसियाले घर फर्किन दिएको अवसरको सदुपयोग गर्नुहोस् ।

मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएको अगष्ट १ देखि यही डिसेम्बर ३१ सम्मको समय दिएको छ ।

अब यो अवसरको फाइदा लिन ६ दिन मात्रै बाँकी छ । मलेसियाएको गएको अगष्टदेखि गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिन ‘ब्याक फर गुड प्रोग्राम’ कार्यक्रम नै सञ्चालन गरेको छ ।

यस्तो छ प्रक्रिया

यो अवसरको सदुपयोग गरेर फर्किनका लागि श्रमिकले आफ्नो देशको दूतावासमा गएर यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्छ ।

त्यसरी पुग्ने श्रमिकलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास उपलब्ध गराउछन् ।

पास पाउने श्रमिक आफैले एक साताभित्र हवाई टिकटको व्यवस्था मिलाई स्वदेश फर्कनुपर्छ । कार्यक्रमलाई प्रभावकारी बनाउन पश्चिमी मलेसियाका ८० अध्यागमन काउन्टर र २ सय कर्मचारी खटाइएको मलेसियाली स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कार्यक्रममार्फत स्वदेश फर्कने श्रमिक फेरि मलेसिया फर्किन भने पाउने छैनन् ।

अध्यागमन विभागले कालोसूचीमा र राख्ने कारण श्रमिक फेरि मलेसिया जान नपाउने भएका हुन् । मलेसियाली गृह मन्त्रालयले ब्याक फर गुड कार्यक्रमको म्याद सकिएपछि गैरकानुनी हैसियतमा बसिरहेका श्रमिकका लागि देशव्यापी कारबाही अभियान सञ्चालन गर्ने जनाएको छ ।

त्यसैले यो अवसरको फाइदा उठाएर घर फर्किंदा फाइदा हुन्छ । यसअघि मलेसिया सरकारले सञ्चालन गरेको थ्री प्लस वान भोलुन्टर्ली प्रोग्राम नामक आममाफी कार्यक्रममा भने न्यूनतम ४ सय रिंगिट जरिवाना तोकिएको थियो ।

तर गैरकानुनी रूपमा मलेसियामा रहेको अवधिका आधारमा जरिवाना रकम तोकिएका कारण कतिपयले ३ हजार १ सय रिंगिटसम्म तिरेका थिए । यो कार्यक्रमको फाइदा उठाउँदै धेरै नेपाली स्वदेश फर्किसकेका छन् ।

यसपटक भने ७ सय रिंगिट तिर्नुपर्ने मलेसियाको अध्यागमनले जनाएको छ । साथै, यो कार्यक्रममा समावेश भएको सात दिनभित्र आधिकारिक कागज जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमतिपत्र र घर फर्किने टिकट आफैंले उपलब्ध गराउनु पर्छ ।

अध्यागमन विभाग आफैंले सञ्चालन गर्ने कार्यक्रम भएकाले कुनै पनि एजेण्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ । यसअघि आममाफीको समयमा घर फर्काउन सहयोग गर्छु भन्दै ठगीका घटना हुने गरेका थिए । त्यसैले यसबाट बच्न मलेसियाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया