ए डिभिजन लिग : तेस्रो चरणकाे बुधबारकाे खेलमा मछिन्द्र र एनआरटी क्लब विजयी

 पुस ९, २०७६ बुधबार १८:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोतिामा बुधबारदेखि तेस्रो चरणका खेलहरु सुरु भएका छन् ।

बुधबार भएका दुई खेलमा मछिन्द्र र एनआरटी क्लब विजयी भए । दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्रले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तालिकाकै शीर्ष स्थानमा उक्लियाे ।

अहिलेसम्म अपराजित रहेको मछिन्द्रले गएकाे संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेका कारण एक अंक तिरेको थियो । त्यसै कारण दुई खेलमा जित र एक खेलमा बराबरी भएपछि उसकाे ६ अंक मात्रै रहेको छ ।

बुधबार मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक-एक गोल गरे ।  खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए ।

त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए ।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटीसँग च्यासल दुई एक गोल अन्तरले पराजित भयाे।

दशरथ रंशगालामा भएको खेलको पहिलो हाफमा च्यासलविरुद्ध एनआरटीले एक गोलको अग्रता बनाएको थियो । खेलको २७ औंँ मिनेटमा एनआरटीका विदेशी खेलाडी जुनियरले गोल गर्न सफल भए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले ७१ औंँ मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका यानीक ओवाना दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर ८५ औंँ मिनेटमा उल्टै एनआरटीले गोल गर्न सफल भयो । उसका लागि दर्शन गुरुङले काउन्टर अट्याकमा गोल गरेका थिए ।

अन्तिममा च्यासलले एक गोल फर्काउँदै अन्तर कम गरेको थियो । उसका लागि अमिर श्रेष्ठले गोल गरेका थिए । तर त्यसपछि च्यासलले थप गोल गर्न सकेन र पराजित भयो ।

यो हारले च्यासललाई अंक तालिकामा ठूलो घाटा भएको छ । उसको तीन खेलमा ४ अंक भएको छ भने एनआरटीको चार अंक छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया