बालविवाह र दाइजो प्रथाविरुद्ध धर्मगुरु

 पुस १०, २०७६ बिहिबार १७:१२:४२ | इन्द्रसरा खड्का
unn.prixa.net

उमेरले ६० पुग्नै लाग्नुभएका रौतहटका अब्दुल सलाम ‘मौलाना’ अर्थात ‘धर्मगुरु’ हुनुहुन्छ । उहाँलाई एउटै प्रश्नले बारम्बार सताइरहन्छ, बालविवाह र दाइजो प्रथा किन हट्दैन ?

ईस्लाम धर्मले बालविवाह र दाइजोलाई प्रोत्साहन नगरेको भन्दै अब्दुल यो चलनलाई सामाजिक अपराधसँग दाँज्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो धर्मले छोराछोरीलाई कम उमेरमा बिहे गर भन्दैन् ।  बरु, हाम्रै हजरत मोहम्मद मुस्तफा सलल्लाहुले पनि आफ्नो बिहे २५ वर्षपछि मात्रै गरेका थिए ।’

छोराछोरीको उमेर नपुग्दै बिहे गर्दा उनीहरुले भोगिरहेको समस्या अब्दुल आफैँले देख्नुभएको छ । सानै उमेरमा बच्चा जन्माउनुपर्ने पारिवारिक जिम्मेवारी वहन गर्नुपर्ने हुँदा किशोरीलाई अझै समस्या हुन्छ । 

यो परम्परा रोक्न अब्दुल, मदरसा, मस्जिद र कहिलेकाहीँ घरघरमा पुग्नुहुन्छ । 

मुस्लिम समुदायमा मौलानाले मदरसा पढाउने र बिहे गराउने काम गर्दछन् । बिहे गराउँदा सबैभन्दा पहिले उमेर सोध्ने र दाइजोका विषयमा कुरा गर्ने गरेको अब्दुलले बताउनुभयो । कसैले कम उमेरमा विवाह गराउन र दाइजो माग्न खोजेको थाहा पाएपछि उहाँ त्यसो नगर्न आग्रह गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘बिहे गराउन जाँदा पनि बालविवाह र दाइजोको कुरा गरिहाल्छु । अहिले त कतिपय अभिभावक कुरा बुझ्ने भइसके । मैले गराएको विवाहमा दाइजोको लेनदेन पनि भएको छैन ।’ 

उमेर नपुग्दै छोराछोरीको बिहे गरिदिने, बिहे गर्दा दाइजोको मोलमोलाइ हुने गरेको उहाँले देख्नु र सुन्नु भएको छ । आफ्नै घर वरिपरी भएका यस्ता घटनाले दुःखी बन्ने उहाँ अहिले बालविवाह र दाइजो प्रथाविरुद्ध सक्रिय भएर लाग्नु भएको छ । 

‘धर्मगुरु’अब्दुल सलाम

अब्दुल यो अभियानमा लागेको १२ वर्ष भयो । पहिले उहाँ भारतमा हुनुहुन्थ्यो । फाजिल अर्थात स्नातकसम्म भारतको बिहार पढेका अब्दुलले २३ वर्ष भारतको मदरसामा शिक्षण गर्नुभयो । २०६४ सालमा उहाँ नेपाल फर्कनुभयो र आफ्नो गाउँ रौतहटको परौहा नगरपालिका वडा नम्बर-९, रामपुरखापमा मदरसा स्थापना गर्नुभयो । 

‘सुविधा त भारतमै थियो । तर, मैले मेरो गाउँ, समुदाय र यहाँका बालिकालाई सम्झेर नेपाल फर्किँए’ उहाँले भन्नुभयो । गाउँ फर्केर मदरसा स्थापना गरेदेखि नै उहाँ बालविवाह र दाइजो प्रथा विरुद्धको अभियानमा लाग्नुभयो ।

मदरसा स्थापनाको दिन सम्झँदै अब्दुलले उज्यालोसँग भन्नुभयो, ‘मुश्लिम समुदायमा अहिले पनि छोरी पढाउने चलन छैन । बिस्तारै चेतना जाग्दैछ । मैले छोरीलाई शिक्षा दिनुपर्छ भन्दै मदरसा सञ्चालनमा ल्याएको हुँ ।’

अब्दुल जस्तै अर्का धर्मगुरु शेखमहम्मद रइसुल आजम पनि बालबिवाह र दाइजोप्रथा विरुद्ध लाग्नुभएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर-८ का ५६ वर्षीय मौलाना शेख मदरसाका प्रधानाध्यापक हुनुहुन्छ । 

धर्म गुरु शेखमहम्मद रइसुल आजम

मदरसा जामिया महमुदुल ओलुम लिलवनाथमा १८ वर्षदेखि काम गर्दै आउनुभएका शेख बालबालिकाका अभिभावकलाई मदरसामै बोलाएर बालविवाह र दाइजोका विषयमा जानकारी गराउँनुहुन्छ ।

२ छोरा र २ छोरीका बुवा शेखले आफ्ना छोराछोरीको बिहे २० वर्षपछि मात्रै गराउने भन्दै अरुलाई पनि यस्तै सल्लाह दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो छोराछोरी भागेर बिहे गर्दैनन् । बिहे गराइदिने भनेकै अभिभावकले हो । हामी धर्म गुरुहरु यसैको बारेमा चेतना फैलाउँदैछौँ ।’

अहिले पहिलेको भन्दा बालविवाहमा कमी आएको उहाँले बताउँनुभयो । 

धर्मगुरुले गर्ने पहल

इस्लाम समुदायका मौलाना अब्दुल र शेख जस्तै धर्मगुरुले मदरसा र मस्जिदमा गएर बालविवाह र दाइजो प्रथाको बारेमा जानकारी गराउने गर्छन् ।

मदरसामा २० वर्ष पहिले बिहे गर्दा हुने स्वास्थ्य समस्याबारे छलफल हुने गर्छ । अभिभावकलाई बेलाबेला मदरसामा बोलाएर छोराछोरीलाई सानैमा विवाह गर्न हुँदैन भनेर सम्झाउने गरिन्छ ।

बालविवाहसँगै दाइजोप्रथाको बारेमा पनि सचेत गराउने गरिएको मौलाना शेख राइसले बताउनुभयो । मदरसामा अरबी, उर्दूलगायत अंङ्ग्रेजी, सामाजिक विषयको पढाइ हुन्छ । मौलानाहरु भने यी विषयभन्दा फरक महिला हिंसा, बालविवाह र दाइजोका विषयमा पनि विद्यार्थीहरुलाई सम्झाउँछन् । 

दाइजो लिन र दिन कानुनले नै रोक लगाएको छ । कानुन विपरीत दाइजो लिँदा र दिँदा हुने सजायबारे अभिभावक, विद्यार्थीहरुलाई जानकारी गराइन्छ । हरेक शुक्रबार मुसलमान नमाज पढ्न मस्जिदमा जाने गर्दछन् । मस्जिदमा मुस्लिम परिवारका सबै जम्मा हुन्छन् । त्यही मौकामा धर्मगुरुले बालविवाह र दाइजो प्रथाबारे चेतना जगाउने काम गर्छन् । 

१२ वटा विवाह रोकियो, २५ लाख दाइजो फिर्ता

रौतहटको परौहा र इशनाथ नगरपालिकामा धर्मगुरुले १२ वटा बालविवाह रोकेका छन् । किशोरी र गाउँलेहरुबाट बालविवाह हुँदैछ भन्ने थाहा भएपछि घरमा नै गएर अभिभावक, किशोरी दुवैलाई सम्झाएर विवाह रोकिएको हो ।

दाइजो लिने र दिने चलन हटाउन रौतहटमा तिलक उन्मूलन समिति गठन भएको छ । तीन ठाउँमा भएको विवाहमा दाइजो दिन लागिएको २५ लाख रुपैयाँ फिर्ता गरिएको समितिले जनाएको छ ।

दाइजो लिने शैली फेरियो 

विवाह गर्दा माइती र घर पक्षले लिनेदिने दाइजोको स्वरुप बदलिएको तिलक उन्मूलन समितिका संयोजक शेख मजहरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले दाइजो लिने शैली फेरिएको छ । बाहिर नलिएजस्तै गर्ने र भित्रभित्रै बैंकको खाता नम्बर साटासाट गरिन्छ ।’

तिलक उन्मूलन समितिका संयोजक शेख मजहर

दाइजो प्रथालाई कानुनले रोक लगाएपछि अहिले गोप्य रुपमा दाइजो लिने र दिने गरेको मजहरको भनाइ छ । ३८ वर्षदेखि विभिन्न जिल्लामा गएर सरकारी वकिलका रुपमा वकालत गर्दै आउनुभएका मठियाका शेख मजहर ४ वर्षदेखि दाइजो प्रथाविरुद्धको अभियानमा लागिरहनु भएको छ । 

उहाँले नगरपालिका र गाउँपालिकाका टोलटोलमा समिति गठन गर्नुभएको छ । समितिले दाइजो प्रथाविरुद्ध जनचेतना जगाउदै लिने र दिने गरेको थाहा पाए कारबाही गर्ने गरेको मजहरले बताउनुभयो ।

जिल्ला अदालत रौतहटमा कायम-मुकायम जिल्ला न्यायाधिवक्ताको रुपमा काम गरिसक्नु भएका अधिवक्ता शेख भन्नुहुन्छ, ‘वर्षौसम्म अपराध रोक्न वकालत गरेँ । यस्ता विकृति अझै भइरहेका छन् । यो रोक्न एक, दुई जनामात्रै सक्रिय भएर हुँदैन । लोभ त्यागेर सबै एकजुट भयाैँ भने याे विकृति पक्कै कम हुन्छ ।’ 

भिडियो हेर्नुहोस्ः

अन्तिम अपडेट: चैत १५, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

1 Comments

  • Dirgha Raj Prasai

    Dec. 26, 2019, 5:24 p.m.

    मुस्लिम र बादी महिलाहरुको दुःखद परिस्थितिमा सुधार हुनुपर्छं ! विश्वका राष्ट्रहरुमा कैयौं महिलाहरु रानी बने, कैयौं राष्ट्रप्रमुख बने, कैयौ प्रधानमन्त्री तर महिला माथिको शोषण बलत्कारबाट मुक्त गर्ने कानूनी कार्यक्रम कहीकतैबाट आएनन् !

  •  0 Reply

तपाईको प्रतिक्रिया