धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भन्न सजिलै छ, जे चाहन्छौ त्यही बन । मनले जे भन्छ, त्यसैगरी आफ्नो बाटो खन । तर, जीवन यस्तो सरल रेखामा कहाँ हिँडोस् ? मन लागेको कुरा गर्न भनेजस्तो सजिलो कहाँ होस् ?
मन नलागेको कुरा गर्नुपर्ने, हिँड्दिन् भनेको बाटो हिँड्नुपर्ने, अनि फिटिक्कै मन पर्दैन भनेकै पेशामा रत्तिनुपर्ने । जिन्दगीको नियती भनौँ वा स्वाद शायद यही हो कि ! मन लागेकै कुरा गर्न, मनमौजी भएर हिँड्न अनि सानैदेखिको सपना पुरा गर्न पाउँने ‘भाग्यमानी’ कति नै पो होलान् र ? अझ, हाम्रो जस्तो अभावैअभाव र दबावैदबावको समाजमा त यो कुरा एक आदर्श जस्तो मात्र लाग्छ ।
मन लागेको कुरा गर्न पाउँदाको कुरा नै बेग्लै । दङ्ग परिन्छ । जिन्दगी यो पो हो त भनेर फुरुङ्ग बनिन्छ । तर, नचाहेको काम गर्नुपर्दा ? जानै मन नलागेको बाटो हिँड्नुपर्दा ? जिन्दगी बढो झुर लाग्छ । वाक्कलाग्दो, दिक्कलाग्दो ।
यस्तै दिक्कलाग्दो बेला थियो, देबु थापाका लागि । जतिबेला उनी प्रहरी बन्दै थिइन् । फिटिक्कै मन नपर्ने फौजी पेशामा जाउँला भन्ने कुरा देबुले दश मनमा एक मनले पनि नसोचेको कुरा थियो ।
जुम्लामा घर नजिकै जिल्ला प्रहरी कार्यालय थियो । अलि पर आर्मीको ब्यारेक । देबुको घरमा डेरा बस्ने सैनिक, प्रहरीले लटरम्म फलेका स्याउका हाँगा भाँचेर टिप्थे । देबुलाई रिसले कन्पारो तात्थ्यो । र कसम खाएकी थिइन्– ‘यस्तो भाते जागिर जिन्दगी खान्न ।’
यो २०४८ सालको कुरा ।
देबु, प्रहरी र टर्निङ्ग प्वाइण्ट
‘मनै नपर्ने’ प्रहरी संगठन आफूभित्रको क्षमता निखार्ने र आफ्नो नाम सुवास फैलाउने संस्था बनेर आउनेछ भन्ने कुराको छेकछन्द हुँदो हो त देबुले प्रहरी बन्न आएको प्रस्तावलाई हाँसी–हाँसी स्वीकार गर्दि हुन् ।
जुम्लामा वीरेन्द्र शिल्डमा राम्रो दौडिएपछि उनी क्षेत्रीय खेलकूदका लागि नेपालगञ्ज झरेकी थिइन् । त्यहीँ उनको दौड देखेर प्रहरीका लागि राम्रा खेलाडी हेर्न पुगेका हेमबहादुर गुरुङ्गले प्रहरी बन्न प्रस्ताव गरे । तर, उनले प्रस्ताव एक कानले सुनाएर अर्को कानले उडाइन् । ‘ज्यान जाला तर पुलिस त बन्दै बन्दिनँ भन्ने कसमै खाएकी थिएँ नि त !’ देबु हाँस्दै सुनाउँछिन् ।
तर, घर नजिकैको प्रहरी थानाका इन्स्पेक्टर श्यामभक्त नेपालले देबुका बुवालाई फकाए । छोरी प्रहरी भए धेरै कुरा सजिलो हुने मात्र होइन । भोलि देबुको बुबाका रुपमा चिनिने अवसर पनि छ भनेपछि बा, छोरीलाई प्रहरी बनाउन राजी भए ।
बाले ५ हजार रुपैयाँ दिएर नेपालगञ्ज पठाए तर, उनी साथीकोमा गइन् । प्रहरीले त्यहीँ पुगेर देबुलाई आफ्नो बनाई छोड्यो । ब्यारेक भित्र्यायो । तालिममा बिस्तारै रत्तिंदै देबु ‘भात खाने’ जागिरमा अभ्यस्त बन्दै गइन् ।
जुडोसँगको जम्काभेट
प्रहरी बन्न जति नसोचेको थियो । जुडोमा जानु त्यो भन्दा कम थिएन । प्रहरीको आन्तरिक खेलकूद प्रतियोगितामा देबु तेश्रो भइन् । तर, अरु स्पर्धामा दौडन बाँकी हुँदै उनी गाडासँग ठोक्किएर घाइते भइन् । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा तीन महिना बस्नुपर्याे ।
त्यतिबेलासम्म प्रहरीमा महिलाको लागि पहिलोपटक खोल्न लागिएको जुडोमा आफ्नो नाम नेपालगञ्जबाट सिफारिस भएर आइसकेको जानकारी उनले पाइन् ।
देबुलाई जुडोबारे खासै थाहा थिएन । जाने कि नजाने भनेर अन्कनाए पनि विभागको निर्देशन नमान्ने कुरा थिएन । देबु डिस्चार्ज भएपछि तालिम लिन निर्देशनालाय पुगिन् ।
यो २०५१ साल लाग्दैको कुरा हो ।
केही दिनको तयारीमा नै उनले फिलिपिन्सकी खेलाडीलाई हराइन् ।
त्यसबेला रविना जोशी नेपालको जुडोकी स्टार थिइन् । उनीसँग खेल्न सकेसम्म कोही नमान्ने । रविनालाई जित्ने खेलाडीलाई बक्सिस घोषणा गरे, विभागका गुरुहरुले । जापानी गुरुले हौसलf दिए र रविना जोशीले खेल्ने ५० किलोमा नै खेल्न तयार पारे ।
देबुले रविनासँग खेलिनन् मात्र हराइन् पनि । रविनालाई जित्नासाथ गुरु यति खुशी भए कि उनले भनेका थिए ‘रविनालाई हरायौ अब पदक नआएपनि केही छैन ।’ उनलाई बक्सिस दिने कति भए कति । ‘३० हजार जति भएको थियो होला पुरस्कार’ सुनाउँदै गर्दा देबु दङ्ग छिन् । तोलाको ४५ सय पर्ने दुई तोला सुन जोडिन् । जुत्ता, ट्रयाकसुट लगायत किनिन् । साथीहरुलाई भोज पनि खुवाइन् ।
यो सफलता देबुले जुडोमा उधुम मच्चाउँछिन् भन्ने पहिलो प्रमाण थियो, शायद ।
देबु, जुडो र ज्याद्रोपन
जुडोमा जोडिएपछि देबु थापा लगातारजसो सफल भइरहिन् । चर्चित बनिन् । तालिम पुरै नगरी त्यसबखतकी राष्ट्रिय च्याम्पियनलाई हराएर सनसनी मच्चाइन् । दक्षिण एशियामा नै एक सफल जुडो खेलाडीका रुपमा आफ्नो नाम लेखाइन् । तर, सुन्दै स्वाद आउने यो सफलता यसै हात परेको सफलता कहाँ हो र ? यसका पछि धेरै कुरा छन् सबैभन्दा ठूलो जस भने उनको ज्याद्रोपनालाई जान्छ ।
खेल नबुझ्ने मान्छेसँग बिहे गर्दा खेल्नै नपाउँला भन्ने डरले उनले ठूलो जोखिम लिएर अन्तरजातीय बिहे गरिन् । शर्त राखिन् ‘मलाई जिन्दगीभर जुडोबाट अलग्याउँदिन भन्ने कसम खाएपछि मात्र, म तिमीसँग बिहे गर्छु ।’
जुडोका कारण उनले पटक–पटक अस्पताल बस्नुपर्याे । ११ औं सागका बेला बंगलादेशमा लिफ्ट चुँडिएर गम्भीर घाइते भएपछि त, उनी ६ महिना बढी त्रिवि शिक्षण अस्पतालमा बिताइन् । त्यो बेला देबुको हालत देखेर दिक्क हुँदै श्रीमान मचाकाजी महर्जनले भने – अब त जुडो छोड ! देबुले बिहे गर्नुअघिको कसम सम्झाइन् ।
देबुकी छोरी बास्केटबल खेल्थिन् तर आमा घाइते भएको र अस्पतालमा बस्दा भोगेको दुख देखेपछि भनिन् ‘म जिन्दगीमा मार्शल आर्टस्का खेल खेल्दिनँ ।’ तर, देबुले यो सोच्न पनि सक्दिन थिइन् ।
तीनै छोरी दुई महिनाकी हुँदा उनलाई यतै छोडेर देबु जुडो खेल्न भारत गइन् । ‘गानिएका दुध दोएर गमलामा पोखेको छु, कत्तिपटक’ देबु सम्झिन्छिन् । चार महिनाकी दुधे छोरीलाई छोडेर उनी फेरि जुडो खेल्न भारत नै गइन् । खेलिनन् मात्र जितेर पदकै ल्याइन पनि । बिहे गरेपछि अब खेल जीवन सकियो, आमा भएपछि त झनै सकियो भन्नेहरुका लागि गतिलो जवाफ थियो ।
‘देबु यस्ता उस्ता समस्यासँग डराउने केटी होइन नि’ हौस्सिँदै सुनाउँछिन् ‘खेल्दाखेल्दै अपाङ्गता भइएछ भने पनि म जुडो छोड्दिनँ । शरीर नचल्ने भयो भने पनि बोल्न त सकुँला नि जुडोकैबारे काम गर्छु र मर्छु ।’
मचाकाजी, बिहे र सकस
बन्दै बन्दिन भनेको प्रहरी बनिसकेपछी देबुले सुन्दै नसुनेको जुडो खेल्नुपर्याे । दुई वर्ष पूरा हुँदा उनले जुडोमा केही गर्ने आशा त जगाइसकेकी थिइन् नै । अब, मरेकाटे जुडो छोड्दिनँ भन्ने कसम पनि खाइसकेकी थिइन् ।
यहिबेला आयो, उनको विवाहको कुरा । पहिल्यै चिनजान भएका पुलिस एकेडेमीमा नै जिम्न्याष्टिकका खेलाडी मचाकाजी महर्जनसँग बिहे गर्न उनलाई गरिएको आग्रह सुरुमा उनले उसैगरी अस्वीकार गरिन्, जसरी प्रहरी बन भन्दा गरेकी थिइन् ।
‘सुन्दै म त चकित भएँ । काठमाण्डौको रैथाने नेवारसँग बिहे गरेर म कसरी गरिखानु ? सोचेर नै मेरो सातो उडेको थियो ।’ देबु ती दिनहरु सम्झिन्छिन् । तर उनलाई खेल बुझ्ने जीवनसाथी चाहिएको थियो । अनि एक शर्तमा उनी मचाकाजीसँग बिहे गर्न राजी भइन् ।
शर्त चाहिँ ?
कुनै पनि बहानामा जुडो छोडाउन नपाइने ।
घरमा भाउजुहरुसँग बाआमाको कुरा नमिलेको लगायतका कारणले अन्तरजातीय विवाह गर्ने अठोट लिएका मचाकाजी शर्त मान्न तयार भए । घरमा बिहे गर्न नदिने भएकाले उनीहरुले ‘कोर्ट म्यारिज’ गरे । बिहेपछि घर गएनन् । ब्यारेकमै बसे । छोरी जन्मेको ६ दिनमा मात्र उनीहरु घर गए ।
दुःखको अर्को पहेलु त्यहाँबाट सुरु भयो । परिवारले अन्तरजातीय केटीलाई स्वीकारेन । ‘ती क्षण त कहालीलाग्दा छन् नि’ देबु सम्झिन्छिन्, ‘सासु, नन्दआमाजु बोल्दैन थिएँ । मैले खन्ने खेत बेग्लै छुट्याइएको हुन्थ्यो । भाँडा नमाझी राखिएको हुन्थ्यो के–के हो के–के ।’ तर, देबुलाई ससुराले भने साथ दिए ।
एक वर्षजति पछि, ससुराको निधन भएपछि बुहार्तन स्याहार्न उनलाई झनै सकस भयो । त्योबेला ससुराले भनेको बचन झल्झली सम्झना आउँथ्यो उनलाई । ‘बुहारी ! दुःख नमान एकदिन यिनीहरु सबैले तिमीले भनेको मान्नै पर्नेछ ।’
नभन्दै भयो पनि त्यस्तै । एक छोरी र छोरा अनि एक आमाजु र नन्द सहितको परिवारमा अहिले देबु नै घरमूली हुन् । अह्रनखटन उनकै चल्छ । हाँस्दै थप्छिन्, ‘खासमा अरु घरको श्रीमती जस्तो चाहिँ मेरो श्रीमान हुनुहुन्छ अनि श्रीमान जस्तो चाहिँ म छु ।’ हुन पनि उनी अझै जुडोकी गुरु हुन् । ठाउँ–ठाउँमा जुडो सिकाउन पनि जान्छिन् र यस्तो बेला घरको सबै काम मचाकाजीकै हो ।
सरकार बाहुलामाथि सारिबक्सियोस्
जुडोमा जम्दै गएपछि देबुलाई अवसर पनि बढ्न थाले । यसैक्रममा तत्कालीन अधिराजकुमारी श्रुतीलाई जुडो सिकाउनुपर्ने भयो । सरकार, बायाँ बाहुलामाथि सारिबक्सियोस्, सरकार, दायाँ बाहुला सारिबक्सियोस् भन्दै सिकाउनुपर्थ्याे । श्रुतीको छाला एकदमै गोरो थियो । अलिकति पनि चोट लागे छालामा नीलो दाग देखिइहाल्थ्यो । अनि प्रष्टिकरण दिनुपर्थ्याे । तर, श्रुती आफैँ सुर्रिन्थिन् खेल्नका लागि र तनमनले अभ्यास गर्थिन पनि ।
आफ्नो विद्यार्थी श्रुतीले गुरु ! सारो गारो के छ ? के चाहिन्छ ? भनेर सोध्दा केही चाहिँदैन भनेकोमा कहिलेकाहीँ दुःख लाग्दोरहेछ, देबुलाई । ‘यो त्यो चाहिन्छ भनेको भए जे पनि पाइने अवस्था थियो । केही चाहिँदैन भनियो । बेलाबेला सम्झिँदा त्यो मौका गुमाइएछ जस्तो लाग्छ’ देबु चुक्चुकाउँछिन् ।
पछि, दरबार हत्याकाण्डमा श्रुतीको ज्यान गएपछि, उनी धेरै रोइन् । नरमाइलो लाग्ने नै भयो । त्यसबेला विभिन्न देशका राजाका छोरीहरुबीच जुडो प्रतिस्पर्धा गराउने कुरा चलिरहेको थियो । जसबारे श्रुती र देबु दुबै उत्सुक थिए ।
त्यसबेलाका श्रुतीसँगका केही तस्बिरमात्र बाँकी छन्, अहिले ।
११ औँ साग स्वर्ण सपना र त्यो कालो दिन
दशाैँ सागमा रजत पदक ल्याएकी देबुलाई ११ औँ सागको स्वर्ण विजेताका रुपमा हेरिएको थियो । भारतको भोपालमा तयारी गरेर नेपाली टोली उतैबाट बंगलादेश पुग्यो । तर, दुर्भाग्य विमानस्थलबाटै सुरु भइसकेको थियो । राती दुईबजे होटल पुगे नेपाली टोलीका खेलाडी । एकातिर प्रशिक्षक, अर्कातिर व्यवस्थापक । फरक फरक होटलमा बस्नुपर्ने भयो । मेवाका केही टुक्रा र ब्रेड खाएर रात बिताएपछि भोलिपल्ट माइक्रोबस चढेर नेपाली टोली खेलस्थलका लागि हिँड्यो ।
बाटैमा पर्ने इम्पेरियल होटल कटेर पर पुगिसकेका बेला नेपाली टोलीलाई इम्पेरियल होटलमा नै फर्किन भनियो । त्यहीँ होटलको लिफ्ट चुँडियो । घाइते भए देबुसहित ६ जना नेपाली जुडो खेलाडी । गम्भीर घाइते भए कालुमान तामाङ्ग र देबु थापा । खेल्नका लागि खेलस्थल पुग्नुपर्ने देबु पुगिन्, अस्पतालमा ।
घाँटी, छाती, टाउको, करङ्ग, दायाँ हात र दायाँ खुट्टामा चोट लाग्यो । देबु हल न चल भइन् । आयोजकले देबुको स्पर्धा दुई दिन पछि त सार्याे । तर दुई दिनमै खेल्न सक्ने अवस्था कहाँ हुनु र ?
अस्पतालमा धेरैजना देबुलाई भेट्न पुगे । जसमध्ये पत्रकार सरिता श्रेष्ठ पनि थिइन् । सरिताले देबु सुतिरहेको अस्पतालको बेडमै झण्डा सिउरिइदिइन् र रोइन् । मलाई यो देखेपछि अचम्मको शाहस आयो देबु भन्छिन्, ‘खै त्यो झण्डा देखेपछि मलाई के भयो के !’
डाक्टर र धेरैजसो खेल पदाधिकारीले पनि खेलेर जोखिम नलिन आग्रह गरे । ‘सबैले तँ सक्छेस, खेल भनिदिउन् भन्ने लाग्ने बेलामा सक्दिनस्, नखेल, जोखिम नलेउ, भनेको सुन्दा दुर्घटनाको पीडा भन्दा पीडादायी हुन्थ्यो ।’ देबु त्यो क्षण सम्झिँदैछिन् ।
यस्तो बेलामा बरदान जस्तो बनेर आइदिए उनलाई उपचार गराइरहेका एक बंगलादेशी डाक्टर । हक्कि खेल्ने क्रममा खुट्टा काट्नु परेर कृत्रिम खुट्टा लगाएका ती डाक्टरले तिमीले खेल्न मात्र होइन उपाधी नै जित्न सक्छौ भनेर हौसला दिए ।
देबुले ‘साक्षात भगवान’ भेटिन् ।
उनलाई एम्बुलेन्समा राखेर रंगशाला पुर्याइयो । ६३ किलोबाट खेल्नुपर्ने देबुको तौल ७० किलोको हाराहारी पुगेछ । शरीरभरी टेपैटेप र आइस राखिएको थियो नि त ।
उनलाई नदुख्ने औषधीको सुई दिइयो । एउटा बिस्कुट र फ्रुटी दिइयो तर त्यो बान्ता भइहाल्यो । उनी सम्झिन्छिन् सूर्यभक्त गुरुले ‘गी’ लगाउन दिएका थिए तर उनको हातले लगाउनै सकेनन् । गुरुले नै ‘गी’ लगाइदिए । सुरुवाल छिरेन । सुरुवाल काटेर छिराइयो र सिलाइयो । गुरुले भने–‘ज्यानै खतरामा पारेर नखेल्नु होश गर्नु ।’
पहिलो खेलमा भारतीय खेलाडीसँग ५ मिनेटको निर्धारित समयमध्ये साढे ४ मिनेटसम्म डटिन् । तर केही जोर चलेन । स्वर्ण सपनाको औपचारिक अवसान भयो ।
अब खेल्नुपर्ने भयो काश्यका लागि । जसमा श्रीलङ्काली खेलाडीलाई हराइन् र काश्य जितीन् । जुन पत्याउनै कठिन जस्तो थियो, उनी स्वयंमलाई पनि । ‘खै के मनोबलले खेलें म भन्नै सक्दिनँ । कथाजस्तै लाग्छ’ देबु भावुक हुन्छिन् ।
स्वर्ण सपना चकनाचुर भए पनि यस्तो अवस्थामा जितेको काश्य सागको स्वर्ण होइन् ओलम्पिकको स्वर्ण जस्तै थियो । उनका लागि, सिङ्गो देशकै लागि पनि ।
पिसाबले सुरुवाल भिजेको थियो, दुखाईको पीडाले । फिल्डमा कसरी खेलें भन्ने थाहा भएन । मुख सुकेको थियो । म्याटमै सुताइयो र फेरि नदुख्ने सुई दिइयो । जापानी गुरु पनि चकित बने । उनी देबुलाई हेरेर रोइरहेका थिए ।
त्यसपछि नेपाल फर्किएपछि शिक्षण अस्पतालमा उनका ६ महिना सकसमा बिते ।
त्यसपछि बल्ल देबु तङ्ग्रिइन् ।
गुरु, देबु र १३ औँ साग
१२ औँ सागमा जुडो राखिएन । देबुले खेलाडीका रुपमा स्वर्ण ल्याउने सम्भावना पनि सकियो । देबुले प्रहरी एकेडेमीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिरहेकै थिइन् । राष्ट्रिय खेलकुद परिषद्ले उनलाई फुपुल्हामु खत्रीको प्रशिक्षक बनायो ।
सन् २०१५ देखि देबुले फुपुको क्षमतामा पाइन् हालिरहिन् । क्षमतावान फुपुले पनि एक पछि अर्को राम्रो नतिजा ल्याइरहिन् ।
भर्खरै सकिएको १३ औँ सागमा देबु सहितका प्रशिक्षक रहेको जुडोले २ स्वर्ण ६ रजत र ८ काश्य पदक जित्यो । जुडोमा मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितकार तथा प्रशिक्षकहरु देबु थापा, दलबहादुर गुरुङ्ग, चन्द्रकुमार डंगोल र पृथ्वी आलोक थिए ।
कर्णाली जुडो र सपना
देबु अब दुई वर्षमा प्रहरीबाट रिटायर्ड हुन्छिन् । त्यसपछि पनि प्रहरीमा नै प्रशिक्षण गर्ने सोच छ । तलब नदिए पनि प्रहरीमा जुडो सिकाउने मन छ । प्रहरीलाई म कसरी भुल्न सक्छु र जसले मलाई जुम्लाबाट यहाँ ल्याइपुर्यायो ।
सँगै, अब आत्मरक्षा र जुडोलाई जोडेर केही गर्ने अनि जुडोलाई कर्णाली उकाल्ने योजना छ देबुको । जिन्दगीमा कस्ता कस्ता क्षण आए कहिल्यै बिचलित भइनन् ।
देबु सुनाउँछिन्, ‘जुम्लामा जुडो पुर्याउन त्योभन्दा ठूलो समस्या त पक्कै नआउला नि !’ देबु दृढ भएर सुनाउँछिन् ।
लड्दै, पड्दै अघि बढ्दै यहाँसम्म आईपुगेकी देबुको आत्मविश्वासलाई विश्वास नगर्नु कसरी !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।