डिआइजीलाई चक्कु ताकेपछि...

 पुस १२, २०७६ शनिबार १२:२७:२२ | रासस
unn.prixa.net

काठमाण्डाै - शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो ।

टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै थिइन त श्रीमान् मदिरामा लठ्ठ थिए ।

प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्, “भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो ।     

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लिल शब्दसमेत प्रयोग गरिन् । त्यहीँ रहनुभएका नायब महानिरीक्षक पोखरेल पनि छक्क पर्नुभयो । एकछिन त सबै अक्क न बक्क भए ।

गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पति दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्यका प्रमुख हुन् ।

शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने, कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन् । काठमाडौँको सडकमा असहाय र बेसहाराहरु न्यून रहे पनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन् । यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ ।     

डिआइजी पोखरेल यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सह्रानीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताउनुभयो । शुक्रबार राति काठमाडौँका सडकबाट मात्रै ३८ जनाको उद्वार भयो । सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए ।

कालीमाटीको सडकमा विगतमा बोरा ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए । अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो । विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।     

सडकमा बसेर नमाग्न प्रचार अभियान सुरु

सडकमा बसेकाहरुको उद्धार अभियानका कारण पछिल्लो समयमा राति सडकमा बस्नेहरु न्यून बन्दै गएका छन् । बेसहाराहरु भेटिएका छैनन् । तर, पेशेबर मगन्ते र मदिरा खाएर सडकमा बस्नेहरु अझै भेटिँदै छन् । उनीहरुलाई बालाजुस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ । कतिपयको घर परिवार फेला पारेर बुझाउने गरिएको छ भने नभेटिएकालाई केन्द्रमा राखेर परामर्श दिने काम जारी छ ।     

अझै बिहान, दिउँसोमा सडक र मन्दिर छेउमा बसेर माग्नेहरु प्रशस्तै छन् । काठमाडौँमा त्यसलाई निरुतसाहित गर्न शनिबारबाट माइकिङ गरेर उनीहरुलाई नबस्न अनुरोध गरिएको काठमाडौँको सडक मानवमुक्त अभियान कार्यान्वयन उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले बताउनुभयो । शनिबार सङ्कटा, भद्रकालीलगायत आसपासका मन्दिरमा पुगेर सबैलाई नबस्न अनुरोध गरिएको छ । पहिलो चरणमा आग्रह गरिने र त्यसपछि अटेर गर्नेलाई उठाउने तयारी महानगरको छ ।     

यही मङ्सिर २९ गते महानगरले काठमाडौँलाई सडक मानव मुक्त बनाउने अभियान घोषणा गरेको हो । आगामी तीन महिनासम्म उद्वार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हप्तादेखि कार्यक्रम जारी छ । अहिलेसम्म ३६० भन्दा बढीको उद्वार भइसकेको छ । कतिपयलाई परिवार खोजेर पठाइएको छ भने धेरै अझै केन्द्रमा छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया