सामाजिक सञ्जालमा प्रश्न : कुलमान कता जानुभयो ? कुलमानकाे उत्तर- शनिबार पनि फिल्डमै छु

 पुस १२, २०७६ शनिबार १७:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिरयता झ्याप्प झ्याप्प बत्ती जाने क्रम निकै बढेको छ । काठमाण्डाै उपत्यकामा विशेषगरी बिहान र बेलुकाको समयमा बत्ती आउने जाने भैरहँदा उपभोक्ता हैरान भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग गर्नुहोस भन्ने तर खाना पकाउने बेलामा नै बत्ती गैरहन्छ भनेर सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन् ।  नेपाल विद्युत प्राधिकरणले माग अनुसारको बिजुली नपुगेर बत्ती गएको हैन, प्राविधिक समस्याले हो भन्दै आइरहेको छ । 

बत्ती जानेबित्तिकै उपभोक्ताले ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो, कुलमानले माया मार्नुभयो’ लगायतका प्रतिक्रिया दिने गरेका छन् । 

 म यतै छु, सुधार भैरहेको छ : कुलमान

नेपाल विद्युत प्राधिकरणले औपचारिक घोषणा गरेर नेपाल लोडसेडिङमुक्त भएको बताएको २ वर्ष पुगिसकेको छ । देशकै उत्पादन व्यवस्थित गर्ने, पुराना संरचना फेर्ने, थला परेका आयोजना पूरा गरेर र भारतबाट बिजुली आयात गरेर प्राधिकरणले देशलाई लोडशेडिङमुक्त बनाइसकेको छ । अहिले बर्खाको समयमा त लगभग नेपालमै उत्पादन भएको बिजुलीले पुग्ने अवस्था छ । तर पनि हिजोआज झ्याप्प झ्याप्प बिजुली गैरहन्छ । 

सामाजिक सञ्जालमा बत्ति जानेबित्तिकै कुलमान जानुभयो भनेर धेरैजनाले लेख्न थाल्नुभएको छ, तपाइँलाई कस्तो लाग्छ ?

उज्यालो अनलाइनको प्रश्नमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाँस्दै भन्नुभयो, ‘पहिला तालिका नै बनाएर लोडसेडिङ हुन्थ्यो, अहिले त्यस्तो छैन, बत्ती जाँदा कुलमान जानुभयो भन्ने प्रतिक्रियालाई मैले म माथिको भरोसाको रुपमा लिएको छु  ।’

उहाँले पर्याप्त बिजुली भए पनि पुराना संरचनाले लोड धान्न नसकेका कारण बत्ती जाने समस्या आएको र यसको समाधान पनि भैरहेको बताउनुभयो । 
यस्तै सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुनसक्ने भन्दै घिसिङले भन्नुभयो, ‘उदाहरणको लागि चाबहिलमा सडक बनाउने काम भैरहेको हुन्छ, तर त्यहाँ खम्बा सार्दा धेरै ठाउँको बत्ती काट्नुपर्ने हुन्छ ।’

घिसिङका अनुसार पाटन क्षेत्रको समस्या समाधान भैसकेको छ । बानेश्वर क्षेत्रमा पनि ट्रान्सफर्मरहरु परिवर्तन गरिएका छन् । ठाउँ ठाउँमा नमिलेको लोडिङ मिलाइसकाले अब झ्याप्प झ्याप्प बत्ती जानेछैन ।

‘मुलपानीको समस्या समाधानको लागि म आज शनिबार पनि मुलपानीमै आएको छु, हामीले पहल गरिरहेका छौँ,’ उहाँले भन्नुभयो । 

काठमाण्डौमा अहिले ६ वटा सबस्टेशन निर्माण भैरहेका छन् । १३२ केभीका अन्डरग्राउण्ड लाइन विस्तार भैरहेको प्राधिकरणले जनाएको छ । बानेश्वरदेखि भक्तपुरसम्मको लागि ओभरलोड भैरहेको छ, त्यसलाई अपग्रेड गर्न गाह्रो भएकाले जमिनमुनिबाटै लाइन ल्याइँदै गरेको पनि प्राधिकरणले जनाएको छ । 

‘ट्रान्सफर्मर नै परिवर्तन गर्न पनि २/४ दिन लाग्छ, बिजुली काट्नुपर्छ । एकैछिन बिजुली गयो भने धेरै नराम्रा कुरा सुन्नुपर्छ । सकभर कसरी हुन्छ बिजुली नकाटिकनै हामीले संरचना परिवर्तन गरिरहेका छौँ । सुधार विस्तारै हुन्छ’,घिसिङले भन्नुभयो ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Suman

    Dec. 29, 2019, 8:08 a.m.

    हामीहरुले जसरी हुन्छ कुलमान जी लाई हौसला बढाउँ । एउटा युग पुरुष जसले आफ्नो सम्पूर्ण समय हाम्रो सेवा मा लगाएको छ। उनलाई हामीहरुले सक्दो सहयोग गरौं।

  •  0 Reply
  • Deepak

    Dec. 28, 2019, 10:33 p.m.

    Guys, let's have patience. I believe he is the only honest and hard working person in the right position. #kulmansingh

  •  0 Reply

तपाईको प्रतिक्रिया