पुटिनलाई सत्ताको बागडोरसम्म पुर्‍याउने व्यक्ति !

 पुस १५, २०७६ मंगलबार १४:११:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इतिहास हेर्ने हो भने रुसी शासककले अलग अलग तरिकाबाट सत्ताको बागडोर सम्हालेका छन् । 

राजाको लागि सत्ता जन्मजात उपहारको रुपमा आएको हो, भ्लादिमिर लेनिनले क्रान्तिपछि सत्ता हात पारे, सोभियत कम्युनिष्ट पार्टीका नेताहरुलाई महासचिव बन्ने बाटो पार्टीलाई अघि बढाउँदै पोलिट ब्यूरोसम्म पुग्नु पर्‍याे । 

तर २० वर्षअघि भ्लादिमिर पुटिनलाई भने सत्ताको चाबी थालीमा सजाएर पेस गरिएको थियो । 

पूर्व राष्ट्रपति बोरिस येल्तसिन र उनका निकटमत सहयोगीहरुले देशलाई २१औँ शताब्दिमा लैजान रुसको जासुसी एजेन्सी ‘केजीबी’ का पूर्व अधिकारीलाई चुनेका थिए । त्यसमध्ये एक थिए भ्लादिमिर पुटिन । 

तर पुटिन नै किन ?

भ्लादिमिर पुटिनलाई रुसको राष्ट्रपति बनाउन भेलेन्टिन युमाशेवले नकै महत्वपूर्ण भूमिका खेलेका थिए । युमाशेव पहिला पत्रकार थिए, पछि रुसी सरकारको अधिकारी बने । रुसी सरकारी अधिकारी मिडियासँग निकै कम कुरा गर्छन् तर युमाशेव मिडियासँग भेटवार्ता गर्न निकै रुचि राख्थे । 

युमाशेव, बोरिस येल्तसिनका सबैभन्दा भरोसा गर्न लायक सहयोगीमध्ये एक थिए । उनको विवाह येल्तशिनकी छोरीसँग भएको थियो । 

सन् १९९७ मा येल्तसिनले चीफ अफ् स्टाफको रुपमा पुटिनलाई पहिलो रोजाइमा छनोट गरेका थिए । 

युमाशेव भन्छन्, ‘प्रशासनिक प्रमुख आनातोली चुवाएको कार्यकाल समाप्त हुँदै थियो । उनले आफ्नो सहायक बन्न सक्ने र राम्रो तरिकाबाट कार्यभार सम्हाल्न सक्ने कोही व्यक्ति भए भनेका थिए । मैले भ्लादिमिर पुटिनको नाम अघि सारेँ । पुटिनले राम्रो तरिकाबाट काम गर्दै आएको मैले देखेको थिएँ ।’

तर त्यसबेला पुटिन पछि गएर रुसको राष्ट्रपति बन्छन् भनेर नसोचेको युमाशेव बताउँछन् । 

उनी भन्छन्, ‘येल्तसिनको नजरमा धेरै व्यक्तिहरु थिए । बोरिस नेमत्सोव, सर्गेई स्टेपाशिन र नकोलाई आक्सेनेन्को जस्ता व्यक्तिहरु पनि थिए । मेरी उनीसँग धेरै कुरा भइरहन्थ्यो र मैले नै पुटिनको नाम सुझाएँ ।’

‘येल्तसिन मलाई पुटिनको बारेमा सोध्ने गर्दथे । मैले पुटिन नै प्रबल उम्मेदवार हुनसक्ने र कठिन समयमा पनि राम्ररी कार्यभार सम्हाल्न सक्ने व्यक्तिका रुपमा चिनाएँ’, उनले थपे । 

तर के पुटिन केजीबीमा जोडिएको कारणले नै केही प्रभाव परेको हो ?

युमाशेव भन्छन्, ‘पुटिन जस्तै केजीबीसँग जोडिएका कैयौँ एजेन्टको एजेन्सीको महत्व कम भएको महसुस थियो र उनले यही कारणले संस्था छोडिदिए । उनी केजीबीसँग जोडिनु र राष्ट्रपति बन्नुले केही अर्थ राख्दैन । पुटिन आफूलाई एक स्वतन्त्र धारा राख्ने गणतन्त्र समर्थकका रुपमा प्रस्तुत गर्दथे ।’

जासुसी तरिकाबाट सत्ता प्राप्त

अगस्ट सन् १९९९ मा बोरिस येल्तसिनले भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नियुक्त गरे । यसबाट पुटिनलाई राष्ट्रपति येल्तसिन क्रेमलिनले देशको नेतृत्व गर्न तयार गरिरहेको स्पष्ट हुन्थ्यो । 

येल्तसिनले सत्ता छोड्न अझै एक वर्ष बाँकी थियो । तर डिसेम्बर सन् १९९९ मा उनले अचानक पद त्याग्ने घोषणा गरे । 

‘नयाँ वर्षको ठिक तीन दिनअघि येल्तसिनले पुटिनलाई आफ्नो घर बोलाए । उनले मलाई र नयाँ चीफ अफ् स्टाफ अलेक्जेण्डर वोलोशिनलाई पनि उपस्थित हुन भने । उनले ३१ डिसेम्बरमा राजीनामा दिने बताए । उनले पुटिनसँग भने– म जुलाईसम्म साथमै रहन्छु ।’

‘यसको बारेमा म, वोलोशिन, पुटिन र येल्तसिनकाी छोरीलाई मात्र थाहा थियो । येल्तसिनले आफ्नो श्रीमतीलाई पनि यसबारेमा केही बताएका थिएनन् ।’
येल्तसिनको राजीनामा (बिदाइ भाषण) लेख्ने जिम्मा युमाशेवले पाए । 

युमाशेव भन्छन्, ‘मेरो लागि यो निकै मुश्किल भाषण थियो । यो निकै चाँडो नै इतिहासको पानामा दर्ता हुने घटना थियो । तर सन्देश दिनु जरुरी थियो र यही कारण पत्रमा ‘मलाई माफ गरिदेऊ’ लेखेँ ।’

‘९० को दशकमा रुसी नागरिकले धेरै घटना भोगेका थिए र येल्तसिनले यही बारेमा बोल्नुपर्ने थियो ।’

सन् १९९९ मा नयाँ वर्षको पूर्व सन्ध्यामा बोरिस येल्तसिनले क्रेमलिनमा आफ्नो बिदाइ सन्देश रेकर्ड गराए । 

‘देशका नागरिकका लागि यो एउटा झड्का जस्तै थियो । सायद म एक्लै मात्र शान्त थिएँ किनकि भाषण मैले लेखेको थिएँ । मानिसहरु रुन लागेका थिए । त्यो निकै भावनात्मक क्षण थियो ।’

‘यो खबर कुनै किसिमबाट लिक नहुनेमा निकै ध्यान दिइएको थियो । आधिकारिक घोषणा हुनुभन्दा चार घण्टा अघिसम्म हामी सबै एउटै कोठामा थियौँ ।कसैलाई कहीँ जाने अनुमति थिएन । म आफैँ भिडियो टेप लिएर टेलिभिजन स्टुडियो पुगेँ । दिउँसोको समयमा भाषण प्रसारित भएको थियो ।’

त्यसपछि भ्लादिमिर पुटिन कार्यवाहक राष्ट्रपति बने र तीन महिनापछि फेरि चुनाव जिते । 

के युमाशेव परिवारका एक सदस्य थिए ?

भनिन्छ, भेलेन्टिन युमाशेव, बोरिस येल्तसिनका निकटतम सहयोगीमध्ये एक थिए । उनलाई प्रायशः यो ‘परिवारको सदस्य’ भनिन्थ्यो । कथितरुपमा सन् १९९० को दशकको अन्त्यमा येल्तसिनलाई जसले प्रभावित गर्दथ्यो, त्यसमध्ये युमाशेव एक थिए । 

युमाशेव भने यो कुरालाई नकार्दै कल्पना मात्रै भएको बताउँछन् । 

तर ९० को दशकमा जब राष्ट्रपति येल्तसिनको स्वास्थ्य बिग्रँदै गयो तब उनी आफ्ना निकटतम सहयोगी, साथी र व्यापारी वर्गसँग नजिक हुन थाले ।

राजनीतिक विश्लेषक वैलरी सोलोवेई भन्छन्, ‘पुटिन अरुभन्दा फरक छन् । उनीमाथि उनका सहयोगीहरुको निकै कम प्रभाव पर्छ ।’

उनी भन्छन्, ‘पुटिन विशेषगरी दुई किसिमका मानिससँग धेरै सम्पर्क गर्छन् । पहिला उनका बाल्यकालका साथी जस्तै रटनर्ग र दोस्रो जसले केजीबीका लागि काम गरेका छन् ।’

तर उनी कसैको बफादारीलाई धेरैजसो आँकलन गर्दैनन् । येल्तसिन आफ्नो परिवारसँग निकै भरोसा गर्दथे तर पुटिन कसैमाथि पनि भरोसा गर्दैनन् ।

‘रुसीहरुलाई पुटिनमाथि भरोसा छ’ 

गएको २० वर्षमा राष्ट्रपति या प्रधानमन्त्रीको रुपमा पुटिन सत्तामा छन् । यस दौरान उनले तयार गरेको सिस्टम उनकै नजिक घुमिरहन्छन् । उनको शासनकालमा रुस एक निरङ्कुश शासन व्यवस्था बन्दै गइरहेको छ, जसका कारण मानिसहरुको लोकतान्त्रि अधिकार र स्वतन्त्रा कम भइरहेको छ । 

सोलोवेई मान्छन्, ‘येल्तसिन मान्थे कि उनीसँग एउटा मिसन थियो र पुटिन पनि यही मान्छन् । येल्तसिन आफूलाई मुसाको रुपमा मान्थे र आफ्नो देशलाई कम्युनिष्ट गुलामीबाट बाहिर निकाल्न चाहन्थे ।’

‘तर पुटिनको मिसन देशलाई विगतमा फर्काउने छ । उनी २०औँ शताब्दिको सबैभन्दा ठूलो घटना (सोभियत सङ्घको विघटन) को बदला लिन चाहन्छन् । उनी र पूर्व केजीबी अधिकारी रहेका उनका सयहोगीहरु पश्चिमी जासुसी तन्त्रका कारण सोभियत सङ्घ विघटन भएको मान्छन् ।’

युवाशेव भन्छन्, ‘पुटिनलाई जसरी स्वतन्त्र विचारधारक मानिन्थ्यो, त्यो आज उनीमा कहीँ कतै देखिँदैन ।’

तर के पुटिनका पूर्व ‘बोस’लाई पुटिनलाई आफूसँगै काम गर्न मौका दिएकोमा पछुतो छ त ?

युमाशेव भन्छन्, ‘बिल्कुल छैन । मलाई केही पछुतो छैन । रुसका मानिसहरु अझै पनि पुटिनमाथि भरोसा राख्छन्, यो स्पष्ट छ ।’

तर बोरिस येल्तसिनले राजीनामा दिनु रुसी राष्ट्रपतिहरुका लागि एउटा शिक्षाको रुपमा हुन सक्छ । 

उनी भन्छन्, येल्तसिनको राजीनामा भन्छ, ‘राजगद्दीको मोह छोडर युवा वर्गलाई बाटो दिनुपर्छ । कम्तीमा पनि येल्तसिनको लागि यो महत्वपूर्ण थियो ।’

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया