उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउनुपर्ने

 पुस १५, २०७६ मंगलबार १४:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उज्यालोलाई जानकारी दिनुभयो । दुवै मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि हिजो गृह मन्त्रालयलाई पत्र पठाएका थिए ।

व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको प्रवक्ता शर्माले बताउनुभयो । श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन् ।

रौतहटमा रहेको श्रीराम सुगर मिलले  सबैभन्दा धेरै ४२ करोड रुपैयाँ तिर्न बाँकी छ । श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन् । यस्तै सर्लाहीको अन्नपूर्ण चिनी मिलले ४० करोड तिर्न बाँकी छ । अन्नपूर्णका सञ्चालक राकेश अग्रवाल हुन् । ईन्दिरा सुगर मिलले १० करोड तिर्न बाँकी छ । ईन्दिराका सञ्चालक पनि राकेश अग्रवाल हुन् । स्वर्गीय मनिष अग्रवाल सञ्चालक रहेको लुम्बिनी सुगर मिलले १० करोड रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै विरेन्द्र कनोडिया सञ्चालक रहेको महालक्ष्मी सुगर मिलले २० करोड र राम थापा र जगदिश अग्रवाल सञ्चालक रहेको वागमती सुगर मिलले ११ करोड तिर्न बाँकी छ । सर्लाही र रौतहटका झण्डै डेढ सय किसान यतिबेला काठमाण्डौमा आएका छन् । ऋण गरेर आन्दोलन गर्न काठमाण्डौ आएको बताउने किसान न्याय नपाइ घर नफर्किने बताउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया