पश्चिम र मध्य क्षेत्रका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात : सतर्क रहन माैसमविद्काे सुझाव

 पुस १७, २०७६ बिहिबार १४:६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिम र मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले वर्षा र हिमपात भैरहेको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अहिले बैतडी, डडेलधुरा, डोटी, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङलगायतका जिल्लाको उच्च पहाडी क्षेत्रमा हिउँ र पहाडी क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम पहाडका केही क्षेत्रमा असिना पानी समेत परेको छ । बुधबार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको बैतडीको खोड्पेका मोहन विष्टले बताउनुुभयो ।

हिमपातका कारण बैतडीमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । आज बिहीबार पश्चिमको मौसम पूर्णरुपमा बदली हुने तथा मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ । भोलि शुक्रबार भने देशभरकै मौसम बदली हुने, विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ ।

तर लगातार झरीको सम्भावना भने नरहेको बासीले बताउनुभयो । वर्षा र हिमपात भएसँगै देशभर नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया