सुदूरपश्चिममा फेरि हिमपात : जनजीवन प्रभावित

 पुस १८, २०७६ शुक्रबार १०:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : विमल विष्ट

उज्यालाे सहकर्मी : विमल विष्ट र नेत्र शाही

जुम्ला – जुम्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । 

चिसोले कारण यहाँको जनजीवन कष्टकर बनेको छ भने स्थानीयबासी घरबाहिरको काममा पनि निस्कन सकेका छैनन् । तीन दिनदेखि बादल लागेको र शुक्रबार हिमपात सुरु हुन थालेपछि जुम्लामा यातायात तथा शैक्षिक संस्था प्रभावित भएका छन् । 

तस्बिर : विमल विष्ट

चिसोले बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । अहिले जुम्लाको तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपातका कारण चिसाे बढेपछि जुम्ला प्रशासन कार्यालयले सुरक्षित रहन आग्रह गरेकाे छ । 

त्यस्तै डोटीमा पनि बिहीबार रातिदेखि हिमपात भइरहेको छ । हिमपातपछि चिसो बढ्दा यस क्षेत्रको जनजीवन प्रभावित भएकोे छ । डोटीका हिमाली भेगमा बिहीबारदेखि भारी हिमपात भइरहेको हो । हिमपातका कारण निकै कष्ट भएको स्थानीय सिद्धराज जोशीले जानकारी दिनुभयो । 

भारी हिमपातका कारण डोटीका लेकाली बस्तीहरु अहिले हिउँले सेताम्य भएका छन् । हिमपातपछि जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्राराना लगायतका गाउँहरु पनि सेताम्मे भएका छन् । 

हिमपातका कारण स्थानीयहरु घरबाहिर निस्किन नसकिरहेको भिग्रानाका स्थानीय भरतबहादुर साउदले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राति परेको हिउँले डाँडाकाँडा पूरै ढाकेको छ, गाईवस्तुसँगै मान्छे पनि बाहिर निस्किन सक्ने अवस्था छैन ।’ 

हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा तथा बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकी जस्ता समस्या निम्तिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ड डा. ज्योति पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा झण्डै ३० जना बिरामी भर्ना भएका छन् ।

त्यस्तै २५ वर्षपछि डाेटीकाे सदरमुकाम सिलगढीमा हिमपात भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया