मेस्सी र राेनाल्डाेपछि अब काे ?

 पुस १८, २०७६ शुक्रबार १४:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०१० को दशकमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले आफ्नो प्रतिभाको साथ विश्व फुटबलमा तहल्का मच्चाए ।

यी दुई स्टार खेलाडीका बीच कोही पनि प्रतिस्पर्धाका लागि योग्य भएनन् । तर याे पनि शाश्वत हाे कि युभेन्टसका ३४ वर्षीय रोनाल्डो तथा बार्सिलोनाका ३२ वर्षीय मेस्सी सधैँभरि फुटबलमा राज गर्न सक्दैनन् ।

बीबीसी स्पोर्टका लेखकहरू र फुटबल पण्डितहरूले आउँदो १० वर्षमा कुन खेलाडीहरू विश्वव्यापी फुटबल खेलकाे नयाँ स्टारको रूपमा देखा पर्नेछन् भन्नेमा अड्कलबाजी गरेका छन् ।

उनीहरुले केही खेलाडीहरुले अबको दशकमा फुटबलमा राज गर्न सक्ने बताएका छन् । सन् २०१० को दशकमा विश्व फुटबलमा तहल्का मच्चाउन सक्ने पाँच जना खेलाडीहरु यी हुन्– 

१. किलियन एम्बाप्पे

मात्र २१ वर्षका एम्बाप्पेले सन् २०१८ मा फ्रान्ससँगै विश्वकप जितिसकेका छन् र उनी फुटबलको एक उदीयमान र महान् युवा स्टार हुन् ।

चम्किरहेको वेगका साथ उनी गोल स्कोररको रुपमा पनि अगाडि बढिरहेका छन् । फुटबल पण्डितहरुले अबको दशकमा एम्बाप्पेले विश्व फुटबलमा राज गर्न सक्ने बताएका छन् ।

अहिले पीएसजीमा रहेका उनले अबको दशकमा मेस्सी र रोनाल्डाेको सबै रेकर्ड तोड्न सक्ने बताइएको छ ।

२. जोओ फेलिक्स

एट्लेटिको मड्रिडका स्टार जोओ फेलिक्स अहिले मात्र २० वर्षका छन् । एट्लेटिको मड्रिडले गएकाे जुलाईमा बेनिफिकाबाट जोओ फेलिक्सलाई अनुबन्धित गरेको थियो । उनलाई एट्लेटिकोले तिरेको रकम विश्वको तेस्रो उच्च शुल्क थियो ।

एट्लेटिकाेमा गए लगत्तै उनी चाेटिल भए र उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । तर चोटमुक्त भएपछि उनी फेरि लयमा फर्किए र अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक छन् । आउँदा दिनमा उनले सबैको रेकर्ड तोड्दै उत्कृष्ट खेलाडी बन्ने बताएका छन् ।

३. जाडोन सान्चो

बोरुसिया डार्टमण्डका खेलाडी जाडोन सान्चोलाई पनि अबको दशकको उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । उनी लयमा भएकाले अबको केही समयमा उनले विश्वका ठूला क्लबहरुबाट आफूलाई प्रमाणित गर्ने मौका पाउने बताइएको छ । उनले अहिले बोरुसियाकाे जितमा प्रायशः निर्णायक गोल गर्दै आइरहेका छन् ।

४. अन्सु फाती

फुटबलका पण्डितहरुले मेस्सी र रोनाल्डोपछिको उत्कृष्ट खेलाडीको सूचीमा बार्सिलोनाका युवा स्टार अन्सु फातीलाई पनि समावेश गर्न रुचाएका छन् ।

गुयना बिसाउबाट आएका आप्रवासी अन्सु फाती ६ वर्षको उमेरमा आफ्नी आमा र भाइसँग स्पेन आइपुगेका थिए । उनका बुवा कामको खोजीमा पहिले नै स्पेन आइपुगेका थिए ।

अहिले उनी बार्सिलोनाका लागि कम उमेरमा नै उत्कृष्ट खेलाडी बन्दै छन् । उनी अहिलेसम्मको खेल खेल्ने र सबैभन्दा कम उमेरका खेलाडी हुन् र सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा क्लबको प्रतिनिधित्व गर्ने खेलाडी पनि हुन् ।

उनको र कप्तान मेस्सीको खेल्ने शैलीमा केही समानता देखिने गरेको बताइन्छ भने कसैले अन्सु मेस्सीभन्दा पनि उत्कृष्ट खेलाडीको रुपमा स्थापित हुने बताउँदै आएका छन् ।

५. रोड्रिगो

सेप्टेम्बरमा ओसासुनाविरूद्धको खेलमा रियल मड्रिडमा आएका रोड्रिगोले सब्सिच्युटकाे रुपमा आएर गाेल गरेका थिए । त्यसपछि उनले रियलका लागि सबै खेलमा उत्कृष्ट प्रदर्शन गरे जसका कारण उनी प्रशिक्षक जिदनको रोजाइमा पर्न फल भए ।

रोड्रिगोले रियलको लागि गोल गर्दै आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्दै आए । च्याम्पियन्स लिग समूह चरणमा ह्याट्रिकको कारण अझ उनको खेलको तारिफ बढ्दै गयो ।

त्यसैले पनि रोड्रिगोले निकट भविष्यमा मेस्सी वा रोनाल्डोको ठाउँ लिन सक्ने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया