देशभर फौजी किराको प्रकोप बढ्दाे : सचेत रहन नार्कको आग्रह

 पुस १८, २०७६ शुक्रबार १८:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको विभिन्न ठाउँमा लगाइएको मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप फैलन थालेकाले सचेत रहन नेपाल कृषि अनुसन्धान परिषद् नार्कले आग्रह गरेको छ ।

गएकाे वर्ष नेपाल भित्रिएको अमेरिकी फौजी किराको प्रकोप पूर्वी पहाडी क्षेत्र हुँदै अहिले तराईमा फैलिएकाले सबैलाई सचेत रहन नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले आग्रह गर्नुभएको छ ।

गएको वैशाख, जेठतिर मात्रै नेपाल भित्रिएको यो किरा अहिले झापा, मोरङ, सुनसरी, बारा, लगायतका ठाउँमा फैलिएकाले सचेत रहन उहाँले किसानलाई आग्रह गर्नुभएको हो ।

समयमै नियन्त्रण गर्न नसके बाली नै सखाप पार्नसक्ने भएकाले लार्भा भेटिनासाथ तत्काल कृषि विज्ञको सल्लाहमा नियन्त्रण गर्न र जथाभावी विषादीको प्रयोग नगर्न पनि किसानलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

यो किरा जमिनमुनि बस्ने गरेको तर किसानले विषादी बोटमा हाल्ने गरेकाले समस्या निर्मूल पार्न नसकिएको उहाँको भनाइ छ । यो किरा केही समय अगाडि धानमा फैलिएको फौजी किरा भने नभएको र यसले उम्रँदै गरेको मकै बालीमा बढि नोक्सानी पुर्‍याउने उहाँले जानकारी दिनुभयो । 

अहिले तराईका विभिन्न ठाउँमा हिउँदे मकै बाली रोपिएको छ । एक रातमा एक सय किलोमिटर टाढासम्म उड्नसक्ने भएकाले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक भएको तर एकजना किसानले मात्रै नियन्त्रण गरेर सम्भव नहुने उहाँको भनाइ छ ।

कतिपय किसानले आफूखुशी रुपमा विषादीको प्रयोग गर्ने गरेकाले फौजी किराको प्रकोप समयमै रोक्न सकिएको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया