के गर्दै छन् आईपीएलको पहिलो सिजनका ८ कप्तान ?

 पुस १९, २०७६ शनिबार ८:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) ले टी २० क्रिकेटमा रोमाञ्चकता थप्न ठूलो योगदान गरेको छ । यसका साथै धेरै नयाँ तथा युवा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने मौका पनि पाएका छन् । आईपीएलको पहिलो सिजन २००८ मा खेलिएको थियो । त्यसमा ८ टिमको सहभागिता रहेको थियो । पहिलो पटक आयोजना गरिएको आईपीएलको उपाधि राजस्थान रोयल्सले जितेको थियो ।

त्यतिबेला त्यस टिमका कप्तान शेन वार्न थिए । त्यस यता १२ सिजन आईपीएल सम्पन्न भइसकेको छ भने १३ औँ सिजनको पनि मिति तय भइसकेको छ ।

आज हामीले आईपीएल पहिलो सिजनका ८ कप्तान अहिले के गर्दैछन् त्यसबारेमा जानकारी दिन्छौँ ।

शेन वार्न (राजस्थान रोयल्स)


अस्ट्रेलियाका अनुभवि कप्तान शेन वार्नलाई राजस्थान रोयल्सले पहिलो आईपीएलमा कप्तान बनाएको थियो । उनको कप्तानीमा शानदार प्रदर्शन गर्दै पहिलो पटक नै उपाधि जित्न सफल भएको टिम हो राजस्थान रोयल्स ।

त्यसपछि वार्नले सन्यास लिए । आईपीएलका ५५ खेलमा वार्नले ५७ विकेट लिएका छन् । वार्न अहिले राजस्थान रोयल्सको प्रमुख प्रशिक्षकको भूमिकामा छन् ।

वीवीएस लक्ष्मण (डेक्कन चार्जस)

डेक्कन चार्जर्स (सनराईजर्स हैदरावाद)ले आईपीएलको पहिलो सिजनमा वीवीएस लक्ष्मणलाई टिम कप्तान बनाएको थियो । आईपीएलमा कप्तान र खेलाडीको रुपमा लक्ष्मण भने सफल हुन सकेनन् ।

उनको कप्तानीमा पहिलो सिजनमा जम्मा २ खेलमात्रै जित्न सफल भएको थियो । खेलाडी जीवनपछि उनी अहिले सनराईजर्सकै मेन्टरको भूमिकामा छन् भने अन्तर्राष्ट्रिय म्याचमा कमेन्ट्री गर्ने काममा पनि जोडिएका छन् ।

युवराज सिंह (किंग्स इलावेन पञ्जाव)

आईपीएलको पहिलो सिजनमा युवराजसिंह २६ वर्षका थिए । उनलाई टिम कप्तान बनाइएको थियो । उनी आईपीएलको सबैभन्दा युवा कप्तानको रुपमा डेब्यु गरेका थिए ।

उनको कप्तानीमा टिम सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा चेन्नाईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युवराजले गएकाे वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । उनी अहिले विदेशी फ्रेन्चाइज लिगमा खेलिरहेका एक मात्र भारतीय खेलाडीका रुपमा रहेका छन् ।

महेन्द्रसिंह धोनी (चेन्नाई सुपर किंग्स)


सन् २००८ देखि अहिलेसम्म महेन्द्रसिंह धोनीकै कप्तानीमा चेन्नाई सुपर किंग्सले आईपीएल खेलिरहेको छ । २००८ मा धोनीलाई ९.५ करोडमा खरिद गरेको थियो ।

पहिलो सिजनमा धोनी सर्वाधिक महंगो खेलाडीको रुपमा रहेका थिए । धोनीको कप्तानीमा पहिलो पटक चेन्नाईले फाइनलको यात्रा तय गरेको थियो । तर फाइनलमा पराजित भएको थियो । धोनी अहिले पनि चेन्नाईका लागि खेलिरहेका छन् ।

विरेन्द्र सहवाग (दिल्ली डेयरडेविल्स)


भारतीय टिमका ओपनर ब्याट्सम्यान विरेन्द्र सहवागले पहिलो आईपीएलमा दिल्ली डेयरडेविल्स (हाल दिल्ली क्यापिटल्स)को कप्तानी गरेका थिए ।

उनको कप्तानीमा दिल्लीले पहिलो आईपीएलमा १४ मध्ये सात खेल जितेको थियो । याे नतिजाले दिल्ली टप चारमा पुग्न सफल भएको थियो । आईपीएलबाट सन्यास लिएपछि सहवागले किंग्स इलावेन पञ्जावको मेन्टरको भूमिका निर्वाह गरे । अहिले त्यो पनि छाडेर बसेका छन् ।

राहुल द्रविड (रोयल च्यालेन्जर्स बैंग्लोर)

राहुल द्रविडले पहिलो सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी सम्हालेका थिए । तर उनको टिमले खासै राम्रो प्रदर्शन भने गर्न सकेन ।

पहिलो सिजनमा बैंग्लोरले जम्मा ४ म्याचमा मात्रै जितको स्वाद चाख्न पाएको थियो । अहिले द्रविड बीसीसीआईको नेशनल क्रिकेट एकेडेमी बैंगलोरमा काम गरिरहेका छन् ।

सचिन तेन्दुलकर (मुम्बई इण्डियन्स)

मुम्बई इण्डियन्सले पहिलो आईपीएलमा सचिन तेन्दुलकरलाई कप्तान बनाएको थियो । आईपीएलमा सर्वाधिक चार पटक उपाधि जित्ने टिम पनि मुम्बई नै रहेको छ ।

तर सचिनको कप्तानीमा पहिलो आईपीएलमा भने राम्रो प्रदर्शन गर्न सकेन । पाँच खेलमा जित हात पारेको मुम्बई तालिकाको पाँचौं स्थानमा रहेको थियो । सचिन अहिले पनि मुम्बईको मेन्टरको भूमिकामा छन् ।

सौरव गांगुली ( कोलकता नाइट राइडर्स)

भारतीय टिमका कप्तान समेत रहेका सौरव गांगुलीलाई कोलकता नाइटराइडर्सले पहिलो सिजनमा टिमको कप्तान बनाएको थियो ।

उनको कप्तानीमा टिमले १४ मध्ये ६ खेल जित्न सफल रह्यो । उनको टिम छैटौं स्थानमा रहँदै प्रतियोगिता टुंगिएको थियो । अहिले गांगुली बीसीसीआईको अध्यक्ष बनेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया