सुनकाे भाउ अहिलेसम्मकै महँगाे

 पुस २०, २०७६ आइतबार १०:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ ।

सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । गएकाे शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो ।

सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उहाँको भनाइ छ । दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन ।

चाँदी गएकाे शुक्रबार जस्तै आइतबार पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैबीच सुनको भाउ महँगो हुन थालेपछि व्यवसायी भने चिन्तामा परेका छन् । भाउ बढेसँगै सुन किन्नेभन्दा पनि बेच्नेको संख्या बढेको भन्दै उनीहरु चिन्तित भएका हुन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया