राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रविन श्रेष्ठ चाेटमुक्त : दुई वर्षपछि मैदान फर्किए

 पुस २०, २०७६ आइतबार १८:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रविन श्रेष्ठ चोटमुक्त भएर मैदान फर्किएका छन् । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा सरस्वती युवा क्लबविरुद्धको खेलमा कप्तानको ब्यान्ड लगाएर रविनले घरेलु फुटबलमा कमब्याक गरेका हुन् ।

राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर रविनको राष्ट्रिय टिमबाट खेल्ने धोको अझै पनि पूरा भइसकेको छैन । 

लेफ्ट फुटेड फुलब्याक रविन दुई वर्षअघि भएको फिलिपिन्सविरुद्धको म्याचमा घाइते भएका थिए । त्यसपछि उनी पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेका थिए । ए डिभिजन लिगमा सरस्वती क्लबविरुद्ध मैदानमा पुनरागमन गरेपछि उत्साहित छन् । तर, पहिलो प्राथमिकता भने पुलिस टिम नै रहेको उनको भनाइ छ ।

‘अहिले मेरो फोकस भनेको ए डिभिजन लिग हो । टिमलाई जतिसक्दो राम्रो गरेर राम्रो पोजिसनसम्म पुर्‍याउन मद्धत गर्छु ।’

राम्रो प्रदर्शन गरे राष्ट्रिय टिमबाट बोलावट हुनेमा उनी विश्वस्त छन् ।

राष्ट्रिय टिममा लेफ्ट फुलब्याकमा राम्रो खेल्ने खेलाडी अझै पनि देखिएका छैनन् । त्यही मौका सदुपयोग गर्न चाहन्छन् रबिन। त्यसका लागि लिगमा उच्च प्रदर्शन गर्नुपर्नेछ भनेर पनि उनलाई थाहा छ । 

‘खेलाडी भएर खेलिसकेपछि राष्ट्रिय टिममा आउने सबैको चाहना हुन्छ ,’ रविनको भनाइ छ । 

सन् २००८ मा १७ वर्षको उमेरमा रविनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । एएफसी च्यालेञ्ज कप अन्तर्गत उत्तर कोरियाविरुद्धको खेलमा पहिलो पटक चन्द्र–सुर्य अंकित राष्ट्रिय जर्सी लगाएका रविन डिफेन्समा रहेर ओलभरल्यापमा जान खप्पिस छन् । इन्ज्युरी अघिसम्म पनि रविन लगातार रुपमा राष्ट्रिय टोलीमा खेलिरहेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया