नेकपा संसदीय दलको बैठकले प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेन

 पुस २०, २०७६ आइतबार २०:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकले अझै प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेको छैन ।

तीन दिनदेखि चलिरहेको बैठकले प्रदेशको नाम र राजधानीबारे ठोस निर्णय गर्न नसकेको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । आइतबारसम्ममा मुख्यमन्त्री डोरमणि पौडेल, पार्टीका प्रदेश इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्यलगायत ६६ जना सांसद तथा नेताले आफ्नो धारणा राखेका छन् ।

धरै सांसदले प्रदेश राजधानी हेटौँडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । राजधानी हेटौँडा राख्ने र नाम वागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध अभिव्यक्ति दिएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आइतबारको बैठकमा अझै छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

धादिङबाट निर्वाचित सांसद डा. रामकुमार अधिकारीले यसमा अझै छलफलको आवश्यकता रहेको बताउनुभयो । चितवनबाट निर्वाचित कृष्ण खनालले पार्टीको निर्णयलाई लागू गरिनुपर्ने बताउनुभयो । बैठकमा केही सांसदले भने पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन् ।

सिन्धुलीका नेकपा सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरे पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नुपर्ने तर्क गर्नुभयो । आइतबार पनि निर्णय हुन नसकेपछि बैठक साेमबार बिहान ११ बजेका लागि फेरि बोलाइएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया