खाडीमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह

 पुस २१, २०७६ सोमबार ९:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता सुरु भएको हो । 

यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आइतबार छलफल भएको छ । सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।

‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ’, उहाँले उज्यालोसँग भन्नुभयो, ‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै सङ्ख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षाबारे सरकार गम्भीर छ ।’

सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन । 

मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ । 

अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । 

साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Topraj b.c

    Jan. 8, 2020, 12:21 a.m.

    म साउदी अरेबियामा छु, मलाई त दुतावासमा कसरी सम्पर्क गर्ने अनि जानकारी पाउन कसरी भन्ने केहि थाहा छैन /

  •  0 Reply
  • Sagar sharma

    Jan. 7, 2020, 5 p.m.

    दुबईमा कुनै समस्या ??

  •  0 Reply

तपाईको प्रतिक्रिया