तनहुँकाे मानहुँकाेटमा नेपालकै ठूलाे राष्ट्रिय झण्डा राखिने

 पुस २१, २०७६ सोमबार १३:३८:२१ | रासस
unn.prixa.net

तनहुँ – पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका ५ काे मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ ।

राष्ट्रियताको भावना जाग्रित गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले याे ठाउँमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो । 

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आउँदाे वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य राखिएको सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार मानहुँकोटको शिरमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर त्यस ठाउँकाे पर्यटकीय गतिविधिलाई अझै वृद्धि गर्ने उद्देश्य लिइएको छ । 

त्यस क्षेत्रमा राष्ट्रिय झण्डासहितको पूर्वाधार निर्माणका लागि १९ लाख १२ हजार एक सय ७० रुपैयाँ बजेट अनुमान गरिएको छ । सहभागिताबाट रकम सङ्कलन गरि झण्डासहितको पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

‘धेरैभन्दा धेरै जनसहभागिताबाट रकम सङ्कलन गर्ने सोच राखेका छौँ’, उहाँले भन्नुभयो, ‘सबै वर्गका व्यक्तिबाट रकम सङ्कलन गर्छौं ।’ अध्यक्ष पन्थका अनुसार पाँच हजारभन्दा बढीको जनसहभागिताबाट रकम सङ्कलन गरिनेछ । 

झण्डा निर्माणका लागि ५० हजार, पूर्वाधार निर्माणका लागि १६ लाख ५२ हजार एक सय ७०, प्रचारप्रसारका लागि ३० हजार, दातासम्मानका लागि एक लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । मानहुँकोटमा झण्डाका साथै बस्नका लागि फलामे कुर्सी, उद्यानलगायत निर्माण गर्ने लक्ष्य राखिएको छ । 

यहाँ राखिने झण्डा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने, दमौली र आसपासका क्षेत्र, कास्की, लमजुङका विभिन्न ठाउँबाट पनि देख्न सकिनेछ । झण्डाको लम्बाइ ४५ फिटको हुनेछ । यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुनेछ । अहिलेसम्म नेपालको सबैभन्दा ठूलो झण्डा काठमाण्डाैकाे माईतीघरमा राखिएको छ । जसको लम्बाइ १० मिटर र चौडाइ सात मिटरको छ । 

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोटमा नेपालकै ठूलो झण्डा राखिएपछि व्यास नगरपालिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । मानहुँकोटको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले त्याे ठाउँमा ४० लाख रुपैयाँको लागतमा 'भ्यू टावर' निर्माणको प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । साथै हरेक वर्ष शहीद दिवसको अवसरमा मानहुँकोटबाट अल्ट्रा म्याराथन प्रतियोगिता पनि हुँदै आइरहेको छ ।

व्यास नगरपालिका ५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले युवा सञ्जालले गर्न लागेको अभियानमा नगरपालिकाको तर्फबाट सहयोग रहने बताउँदै राष्ट्रिय झण्डा अभियानले समग्र जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   

मानहुँकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु लगायत लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँ डाँडा पुग्ने बाटो कालोपत्रेको काम पनि सुरु भइसकेको छ । सङ्घीय सरकारको सात करोड रुपैयाँ बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै सुरु बताइएको छ ।

व्यास नगरपालिका ५ नम्बर वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमी बाटो कालोपत्रेका लागि काठमाण्डाैकाे रानीबारी कन्स्ट्रक्सन प्रालीले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया