किसानले साग बेच्छन्, सहकारीले गुन्द्रुक

 पुस २१, २०७६ सोमबार १६:२४:४० | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक - करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रे गगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गर्नुभयो । गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि यस गाउँका किसानको आम्दानीसमेत वृद्धि भएको छ ।     

करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजारभन्दा बढी रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले मात्रै होइन, अहिले यस गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् ।

खेरा जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताउनुभयो । उहाँका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर कम्तीमा तीन/चार सय किलो साग बेच्ने गरेको छन् ।     

काभ्रेकाे कोसीपारि चौरीदेउराली गाउँपालिका–२ नाग्रे गगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्ययले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न सुरु गरेको हो ।

साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गर्ने गरेको छ ।     

सस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ । १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ । शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।     

माया तामाङ र प्रिती तामाङलाई महिनाको दश हजार दिने गरी सस्थाले रोजगारी समेत दिएको छ । उहाँहरुको काम साग सङ्कलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताउनुभयो ।     

स्थानीय शशी तामाङले काठमाडौँमा होटलमा लागि रु एक लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम चलिरहेकाे छ । अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ ।

उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया