गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हेटौंडाले ३० लाख सहयोग गर्ने

 पुस २१, २०७६ सोमबार १६:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गर्नुभएको हो ।  

धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताउनुभयो । रङ्गशाला निर्माण हुँदा हेटौंडालाई पनि फाइदा हुने भएकाले सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

रंगशाला निर्माणका लागि देशैभरीका स्थानीय सरकारको सहयोग आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो । रंगशाला निर्माणका लागि दिने भनेर घोषणा गरेको रकम केही दिनमा नै हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । 

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ । 

यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ ।

यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया