भत्काइए १३ सय छाउगोठ

 पुस २१, २०७६ सोमबार १७:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - छाउपडी उन्मूलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्ममा १ हजार २ सय ७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको हाे । 

सोमबार संसदकाे महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार बझाङमा ७, दैलेखमा १७, सल्यानमा २ र  जाजरकोटमा १ छाउगोठ भत्काइएका छन् । 

यो वर्षभित्र छाउगोठ उन्मूलन गर्ने अभियान नै सञ्चालन भएको छ । सुर्खेतमा १५ सय छाउगोठ भत्काउन बाँकी रहेको छ । त्यसैगरी अछाममा २ सय ५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी रहेको सचिव राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र पालिकाहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छाउगोठ नराख्ने व्यहोराको पत्रमा लिखित हस्ताक्षर गराउने अभियान थालिएको उहाँले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गाउँघरमा अझै युवतीहरुलाई भोली दुःख हुन्छ भनेर डर देखाउने भएकाले उनीहरु पनि छाउकोठमा जान बाध्य भएको बताउनुभयो । 

छाउपडी हटाउने अभियान जारी रहे पनि विभिन्न अदृश्य शक्तिहरुको डर देखाएर तर्साउने गरेको पाइएको उहाँले बताउनु भयो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले छाउपडीविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । 

छाउ भएको समयमा विद्यालय जान नपाउने अवस्थाको अन्त्य गर्न पनि अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । महिनावारीको समयमा पौष्टिक खानेकुराको उपलब्धताका लागि अभियान सार्थक हुने उहाँको भनाई छ ।

सांसद दुर्गाबहादुर राउतले जनप्रतिनिधिहरुको घरमा नै यस्तो खालको कुप्रथा रहेको उल्लेख गर्दै अभियानको सुरुवात गर्न पालिकाहरुलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मी परियारले कमजोर मानसिकता र गरिबीका कारण छाउपडी प्रथा उन्मूलन हुन नसकेको बताउनुभयो । धार्मिक अगुवाहरुलाई कानुनको विषयमा जानकारी गराउने र उनीहरुलाई कानुनको दायरमा ल्याउन सके अभियान सफल हुने उहाँले बताउनुभयो ।

कञ्चनपुर, कैलाली, बैतडी, डडेल्धुरा, दार्चुला, डोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा छाउगोठ नभएको जानकारी समिति बैठकमा दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया