छाउपडी प्रथा मान्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

 पुस २१, २०७६ सोमबार १८:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएको बेला छाउगाेठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नुहने भन्दै छाउपडी प्रथा मान्दै आएका अभिभावक र महिलालाई कारबाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो । 

समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाईसमेत निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

समितिले गएकाे वर्ष बाजुरा लगायतका जिल्लाको स्थलगत अध्ययन गरी अल्पकालिन र दिर्घकालिन सुझाव सहितको प्रतिवेदन महिला मन्त्रालयमा पठाएको थियो । तर, प्रतिवेदन कार्यान्वयमा नआएको भन्दै तत्काल रणनीति बनाएर प्राथमिकताकासाथ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ ।

‘प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न तत्काल रणनीति बनाइ प्राथमिकीकरण सहितको परिणाममुखि कार्यसम्पादन गर्न/गराउन र आउँदाे दिनबाट कुनै पनि छाउ महिलाको मृत्यु हुने अवस्था आउन नदिने वातावरण बनाउन समिति गृृहमन्त्रालयलाई निर्देशन दिन्छ ’, समिति सभापति पालले भन्नुभयो ।

सामाजिक रुपान्तरणको संघारमा राज्य अगाडी बढिरहेका बेला संकिर्ण संस्कारगत नकारात्मक अवशेषको शिकार सोझा नागरिक हुनु दुःखद भएको समितिले जनाएको छ ।

अमानवीय संस्कारगत व्यवहारविरुद्ध सामाजिक ऐक्यबद्धता कायम गराउने वातावरण सिर्जना गर्न महिला, गृह, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाईसमेत समितिले निर्देशन दिएको छ ।

यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं पालिकासँग समन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया