जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता !

 पुष २२, २०७६ मंगलबार १०:५:२५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । 

सिरहामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीले साेमबार सिरहा नगरपालिका १२ काे सारस्वरमा आयोजना गरेका अन्तरक्रियामा  सिरहाका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराइ दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले प्रतिबद्धता जनाएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने अन्तरक्रियाबाट निर्णय भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक चतुर्वेदीले याे निर्णयविपरीत बालविवाह गराइए कारबाही हुने बताउनु भयो । 

पछिल्लो समय सिरहामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीहरुको पण्डित तथा मुस्लिम समुदायका मौलानाहरूसँग अन्तरक्रिया गरेको हो ।   

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेदका घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गरेका छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दुर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई निरुत्साहित गर्न अभियान चलाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनु भयाे ।     

उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको कानुनी व्यवस्था छ । 

सिरहा नगरपालिका १२ का वडाध्यक्ष शत्रुधन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका पुरोहित तथा मौलानाहरुसँग बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखा पर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया