आरुबोटे हत्याकाण्ड : घटनास्थल वरिपरि एक्लै हिँडडुल गर्दैनन् मानिस

 पुस २२, २०७६ मंगलबार १४:१७:३७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका -३ आरुबोटेमा एकै परिवारकाे ९ जनाको विभत्स हत्या भएको ८ महिना बितिसकेको छ । त्रासमा जीवन बिताउँदै आएका स्थानीयले क्रमश सुरक्षाको महशुस गर्दै आएका छन् । 

तर, विभत्स हत्याकाण्डले अहिले पनि आरुबोटेवासीलाई झस्काइरहन्छ ।  शान्ति सुरक्षाको लागि सुरुमा प्रदेश–१ को सरकारले ३० जना प्रहरी खटाएर विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको थियो ।

अहिले यो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पाँचथरले अस्थायी रुपमा प्रहरी राखेको छ । मिक्लाजुङ-३ को वडा कार्यालयमा अस्थायी प्रहरी राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

२०७६ साल जेठ ६ गते भएकाे हत्याकाण्डपछि बेला बेला त्यस घटनाले झस्काइरहने स्थानीयहरु बताउँछन् ।  

हत्या गरिएका बमप्रसााद फियाकको घरमा अहिले उनकै साइली छोरी बुद्धमाया योङहाङ बस्दै आएकी छिन् भने धनराज शेर्माको घर खाली रहेको छ । सडकमै रहेको शेर्माको घरबाट मानिसहरु समूह बनाएर हिड्ने गरेका छन् । बालबालिका विद्यालय जाँदा समूहमा नै जाने  गरेका छन् ।

 

राति र बिहान घटनास्थल वरपर एक्लै हिँड्डुल गर्ने आँट कसैले नगरेको स्थानीय पदम खनालले बताउनुभयो । प्रहरी चौकी स्थापनाको लागि बजारवासीले माग गर्दै आए पनि हालसम्म कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ ।

जेठ ६ गते २ घरमा भएको कारुणि हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमति पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र  १२ वर्षीया  श्रेया फियाकको हत्या भएको थियो । 

यस्तै, ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया  योवना शेर्मा,  ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको  हो । बमबहादुर र धनराज ज्वाई ससुरा हुन् ।

हत्यामा संलग्नता रहेको आशंका गरिएका बमप्रसादका कान्छा ज्वाइँ मानबहादुर माखिमको मिक्लाजुङ–८, मा रहेकाे लिम्बामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । 

हत्यामा प्रयोग गरिएको खुकुरी घटनास्थलमा बरामद भएको थियो । हत्यामा उनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष छ । यहाँका स्थानीयले स्थायी रुपमा प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्दै आए पनि हालसम्म स्थायी प्रहरी चौकी स्थापना हुन नसकेको मिक्लाजुङ गाउँपालिका - ३ का वडाध्यक्ष हस्तराज फियाकले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया