‘खाडीमा कार्यरत नेपाली समस्यामा परे उद्धारका लागि पूरै सरकार लाग्छ’

 पुस २२, २०७६ मंगलबार १५:५१:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले इरान र अमेरिकबीच तनाब बढ्दा मध्यपूर्वमा रहेका नेपाली श्रमिक समस्या परे पूरै सरकार लागेर उद्धार गर्ने बताउनुभएको छ । 

मंगलबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री यादवले मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिबस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गो लगाउने बताउनुभएको हो । 

सबै सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको र छिट्टै एउटा निर्णय गर्ने श्रम मन्त्रालयका सचिव विनोद केसीले बताउनुभयो ।

यस्तै, इराकको राजधानी बग्दादमा रहेको अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी श्रमिकलाई स्वदेश फर्काउन थालिएको छ । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक श्रमिक राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् ।

श्रम मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाइसकेको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।

‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ’, उहाँले उज्यालोसँग भन्नुभयो, ‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै सङ्ख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षाबारे सरकार गम्भीर छ ।’

सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन । 

मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ । 

अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । 

साउदी, कतार, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।

खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया