आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे ‘सुन्तलेडाँडा’

 पुस २३, २०७६ बुधबार १३:४६:२० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - विराटनगरकी अनिता थापा भोजपुर सदरमुकाम बसेको १८ महिना भयोे । सदरमुकाममा उहाँ सुआहारा कार्यक्रममा काम गर्नुहुन्छ । कामको बोझ हल्का गर्न उहाँ यो हप्ता हिउँ खेल्नको लागि ‘सुन्तलेडाँडा’ पुग्नुभयो । सुन्तलेडाँडामा सेताम्मे हिउँ परेको थियो ।

सुन्तलेडाँडाको चिसो हावा, मनोरम दृश्य र मीठो अतिथि सत्कारले जो कोहीलाई पनि लोभ्याउने गर्दछ । सुन्तलेडाँडाको सौन्दर्य र त्यहाँको चिसो हावापानीले भारी भएको मानसिक बोझ हल्का भएको थापाले बताउनुभयो । शनिबार त्यस क्षेत्रमा हिउँ परेकाले पनि हिउँ खेल्न हजारौँको सङ्ख्यामा पर्यटकहरु त्यहाँ पुगेका थिए ।

अनिता थापाजस्तै स्थानीय भोजपुर सदरमुकामवासी र आसपासका जिल्लाका सर्वसाधरणको समेत पहिलो रोजाइ बन्न थालेको छ ‘सुन्तलेडाँडा’ । सुन्तलेडाँडा सदरमुकामबाट झण्डै ११ किलोमिटरको दूरीमा पर्दछ । भोजपुर नगरपालिकाको वडा नम्बर २, ३ र ५ को सिमानामा रहेको यो डाँडाबाट मकालु लगायतका हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रायः पर्यटकहरु यहाँबाट देखिने सुन्दर हिमालहरुको अवलोकन गरेर आनन्द लिन यहाँ आउने गरेको स्थानीय दावा शेर्पा बताउनुहुन्छ । यसबाहेक सिलिचुङ्ग डाँडा, अरुण नदी, धनकुटाको हिले, लेगुवाबजार, मैयुङ डाँडा, टेम्केडाँडा, भोजपुर सदरमुकामका साथै दक्षिणी भेगको सुन्दर दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ ।

 
एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सरकारले भोजपुरको टेम्केडाँडा (मुन्धुम ट्रेल) लाई सूचीकृत गरेको छ । तर टेम्केडाँडाजस्तै पर्यटन प्रवर्द्धनका प्रचुर सम्भावना र आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने स्थलमध्येकाे एक सुन्तलेडाँडालाई पछाडि राखिएकोमा स्थानीयवासीहरुको गुनासो रहेको छ ।

भोजपुर नगरपालिका–२ का शुक्र तामाङ भन्नुहुन्छ, ‘भोजपुरमा सुन्दर ठाउँहरु धेरै छन् । तर तिनको पहिचान र प्रवर्द्धन गर्न नसक्नुले सुन्तलेडाँडाजस्ता दर्जनौँ गन्तव्यहरु ओझेलमा परेका छन् ।’ 

भोजपुर सदरमुकाम र संखुवासभा जोड्ने प्रमुख व्यापारिक केन्द्र दिङ्लाबजार जोड्ने सडक सञ्जालको विस्तारसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । चहलपहल बढेसँगै घुम्न आउने आगन्तुका लागि खान, बस्नको सुविधासहित होटल, लजहरु खोल्न थालिएका छन् ।

उत्तरी क्षेत्रका बिसिन्दाहरुको प्रमुख पैदलमार्गको रुपमा सुन्तलेडाँडा रहेकाले यो उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका पनि हो । आर्थिक वर्ष ०७३/७४ मा नगरपालिकाले यहाँको कच्ची सडकलाई स्तरोन्नति गरेर तीन लेनको बाटो बनाएको छ । यही रुट हुँदै सदरमुकामदेखि दिङ्लासम्म ल्याण्डरोभर जिप, यात्रुबस लगायतका गाडट्हीरु दिनहुँ गुड्ने गर्दछन् ।

पर्यटनको सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले चासो नदिँदा सुन्तलेडाँडा प्रवर्द्धन हुन सकेको छैन । सुन्तलेडाँडालाई सुन्दर र व्यवस्थित बनाउन गुरुयोजना बनाएरै बजेट निकासा गर्नसके पर्यटनलाई व्यावसायिक बनाउन सहज हुने सुन्तले पर्यटन समितिका अध्यक्ष सूर्य गोले बताउनुहुन्छ ।

‘सुन्तले डाँडाका घुम्न र दृश्यवोलकनको लागि राम्रो ठाउँ हो, तर कुनै परिषद्बाट सुन्तलेडाँडाको लागि बजेट निकासा भएको छैन ’, उहाँले  भन्नुभयो, ‘योजनासहितको बजेट निकासा गरेर तारबार, ठाउँठाउँमा पिकनिक स्पट, लज, सुलभ होमस्टे स्थापन गर्नसके यसलाई व्यावसायिक बनाउन सकिन्थ्यो ।’

चैत वैशाखको वसन्त, साउन भदौको हरियाली वनजङ्गल र डाँडाकाँडा, कार्तिक मंसिरको खुल्ला शरद र माघमा पर्ने हिमपातका बेला अति मनोरम दृश्यावलोकन गर्न सुतलेडाँडामा आन्तरिक पर्यटकको निकै चहलपहल हुने गरेको पाइन्छ । पर्यटन व्यावसायलाई प्रवर्द्धन गर्नसके यो डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको राम्रो आगमन हुने स्थानीय बाघखोरमा विगत ५ वर्षदेखि होटल व्यावसाय गर्दै आउनुभएका गणेश तामाङ बताउनुहुन्छ ।

‘बर्सेनि विकास निर्माणका लागि छुट्याइने बजेटमध्ये पर्यटन प्रवर्द्धनका लागि पनि छुट्याएर व्यवस्थित गर्दा यहाँको पर्यटन व्यवसाय फस्टाउन सक्थ्यो । यो विषयमा कसैको ध्यान गएको छैन, वडा परिषदमा हामीले पटक–पटक कुरा उठायौँ तर कसैले सुन्दैन, यही छ बिडम्बना’, तामाङले भन्नुभयाे ।

डेढवर्ष अघिमात्रै नयाँ वर्ष, पार्टी, भोजभतेर, पिकनिकका लागि आउने आन्तरिक पर्यटकहरुका लागि भनेर आठ लाखको लगानीमा पिकनिक पार्क बनाइएको थियो । आन्तरिक तथा बानह्य पर्यटक भित्र्याउने उद्देश्यले गएकाे २०७४ असारमा स्थानीय पान्थले सामुदायिक वनको झण्डै १४ रोपनी जग्गामा पार्क निर्माण गरिएको थियो । 

तत्कालीन जिल्ला वनको वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रम (०७३/७४) अन्तर्गतको आठ लाख रुपैयाँकाे बजेटमा पार्क बनाइएको थियो । पार्कभित्र बस्ने, शीतल छल्ने पाटी–चौतारी, भोजभतेरका लागि आवश्यक चुल्हाचौका, खानेपानीको लागि धारा, चर्पी, सुन्दर सफा खुल्ला चौर हुनुका साथै वरपर तारबार पनि गरिएको छ ।

सुन्तलेडाँडा, ‘सुन्तले बजार’ को नामले पनि परिचित छ । यो ठाउँमा झण्डै २४ घरधुरी बसोबास गर्छन् । अधिकांशले होटल तथा थोककिराना पसल खोलेर बसेका छन् । समुन्द्री सतहदेखि झण्डै २६ सय मिटरको उचाइमा रहेको यो ठाउँ प्रायः बाह्रै महिना चिसो हुन्छ । गर्मी छल्ने र फुर्सदमा घुम्ने बहानामा पर्यटकहरु यहाँ आउने गरेका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया