तीन महिनाभित्र ओमानसँग श्रम समझदारी गर्ने सरकारको तयारी, अरु चार देशमा पनि मस्यौदा पठाइयो

 पुस २३, २०७६ बुधबार १४:११:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले तीन महिना भित्र ओमानसँग श्रम समझदारी गर्ने तयारी गरेको छ ।

श्रम समझदारीका लागि ओमान सरकारलाई समझदारी पत्र पठाइसकेकोले अबको तीन महिनाभित्र समझदारी हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

साउदी अरब, टर्की, इजरायल र कुवेतसँग पनि श्रम समझदारी गर्न मन्त्रालयले तयारी गरिरहेको छ । यी चारै देशमा श्रम समझदारीको मस्यौदा पठाइसकेको र साउदीले मस्यौदामाथि तुलनात्मक अध्ययन समेत सकेको श्रम मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालले मलेसिया र यूएईसँग शून्य लागतमा श्रमिक जान पाउनेगरी श्रम समझदारी गरिसकेको छ । यूएईसँग पहिलेको श्रम समझदारी प्रतिस्थापन गर्दै नयाँ समझदारी भएको हो भने नेपाल र मलेसियाबीच पहिलोपटक श्रम समझदारी भएको हो ।

नयाँ समझदारीले नेपाली श्रमिकको सुरक्षा र सुविधालाई अरु देशका नागरिकसरह हुने कुरामा विशेष जोड दिएको छ । नेपाली श्रमिकका लागि रोजगारीको नयाँ गन्तव्य खोज्न अध्ययन भइरहेको पनि श्रम मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया