ए डिभिजन लिग : पाँचौं चरणका खेल सकिए, त्रिभुवन आर्मी शीर्ष स्थानमा

 पुस २५, २०७६ शुक्रबार १५:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणको खेलहरु सकिएका छन् । पाँचौँ चरणमा आइपुग्दा विभागीय क्लब त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा पुगेको छ ।

जारी लिगमा अहिलेसम्म अपराजित रहेको आर्मीले बिहीबार फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानामा उक्लिएको हो । पाँच खेलमध्ये आर्मीले ४ खेलमा जित हात पार्दै १२ अंक बनाएको छ ।

तर अपराजित रहेको मनाङले भने ११ अंक मात्रै बनाएको छ ।

मनाङले ३ खेलमा जित र २ खेलमा बराबरी गर्दै ११ अंक बनाउँदै दोस्रो स्थानमा झरेको हो । यस्तै अर्को अपराजित टिम मछिन्द्र भने १० अंकका साथ तेस्रो स्थानमा छ ।  

अघिल्लाे संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेकाले एक अंक घटाउँदा तीन खेलमा जित र २ खेलमा बराबरी खेल्दा १० अंक मात्रै भएको हो । थ्रीस्टार क्लब १० अंकका साथ चौथो स्थानम रहँदा जावलाखेल युथ क्लबले २ खेलमा जित र तीन खेलमा बराबरी गर्दै ९ अंकका साथ पाँचौँ स्थानमा राख्न सफल भएको छ ।

नेपाल पुलिस क्लब ८ अंकसहित छैटौँ स्थानमा रहँदा संकटा सात अंकसहित सातौँ स्थानमा छ । ६ अंक जोडेका ब्रिगेड ब्वाइज क्लब आठौँ स्थानमा छ भने गत संस्करणको २ अंक घटाएको एनआरटी ५ अंकसहित नवौँ र समान ५ अंक जोडेको च्यासल दशौँ स्थानमा छ ।

यस्तै ४ अंक जोडेको एपीएफ ११ औँ स्थानमा छ भने ३ अंक जोडेको शेर्पा १२ औँ स्थानमा छ । त्यसैगरी २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औँ स्थानमा छ भने तालिकामा अंकको खाता खोल्न नसकेको सरस्वती पुछारमा रहेको छ ।

पाँचौं चरणका सबै खेल भने दशरथ रंगशालामा सञ्चालन भए । तर वर्षाले प्रभावित भएपछि खेल सोमबारदेखि मात्रै शुरु भएको थियो । शनिबारदेखि शुरुहुनु पर्ने खेल सोमबारदेखि शुरु भएपनि हरेक दिन जसो चिसो मौसमकाबीचमै खेलहरु सञ्चालन हुन पुगे । पाँचौं चरणको पहिलो खेलमा एनआरटी र जावलाखेल युथ क्लब भिडेका थिए । जसमा दुवै टिम गोलरहित बराबरी खेले ।

दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र मछिन्द्रबीचको खदेल सकिएपछि मैदानमै झगडा गरेकालरे दुवै टिमका ३–३ जना खेलाडी कारबाहीमा परे भने क्लबलाई ५० हजारका दरले जरिबाना सुनाइयाे ।

मछिन्द्रको टिममा रहेका अधिकांश खेलाडीहरु गत सिजन मनाङमा रहेका थिए । उनीहरुका बीचमा झडप हुँदा प्रहरी नै परिचालित भए । एन्फाको अनुशासन समितिले त्यस दिनको घटनाको भिडियो फुटेज अध्ययन गरी मछिन्द्र र मनाङका तीन तीन खेलाडीलाई कार्वाही गर्ने निर्णय गरेको हो ।

मनाङका जगजीत श्रेष्ठ र अशोक बराललाई ५–५ खेलको प्रतिबन्ध लाग्दा मनाङकै रञ्जन विष्टसहित मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

एन्फाले जगजीतलाई १० हजार रुपैयाँ जरिवाना पनि लगाएको छ । एन्फाको अनुशासन कमिटीले विहिबार दुबै क्लवका दोशी खेलाडीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

यसका साथै मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । यसका साथै उनलाई पनि १० हजार रुपैयाँ जरिवाना लगाएको छ । दुबै क्लवलाई एन्फाको अनुशासन कमिटीले ५०–५० हजार जरिवाना तिराउने निर्णय पनि गरेको जनाइएको छ ।

तेस्रो खेलमा फ्रेण्ड्स र सरस्वतीले गोलरहित बराबरी खेल्दै एक एक अंक हात पारे । पाँचौं चरणको चौथो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाईजबीच खेलेका थिए । जसमा थ्रीस्टार ३–१ गोल अन्तर विजयीहुँदै आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो ।

पाँचौं खेलमा विभागीय क्लब नेपाल पुलिस र च्यासल युथ क्लब २–२ गोलको बराबरी खेले । यो खेल यसकारण अविष्मरणीय रह्यो की, च्यासलका कप्तान सन्तोष साहुखलले ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाउन सफल भए । पहिलो र दोस्रो चरणको खेलमा गरि ३ गोल गर्दै ९९ गोल संख्या पुर्याएका सन्तोष पछिल्ला दुई खेलमा गोल गर्न असफल भएका थिए ।

तर उनले पुलिसविरुद्ध १ गोल गरेसँगै ए डिभिजन लिगमा १०० गोल गर्ने नेपालको पहिलो खेलाडीको रुपमा कीर्तिमान बनाए । साथै उनले नै गरेको व्यक्तिगत दोस्रो गोलले पुलिससँग एक अंक लिन पर्याप्त बन्यो । सन्तोषले पुलिसविरुद्ध गरेको २ गोलले लिगमा गोलसंख्या १०१ बनाएका छन् । सन्तोष जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले अहिलेसम्म ५ गोल गरिसकेका छन् ।

छैटौं खेलमा संकटा र एपीएफ भिडेका थिए । जसमा संकटाले एपीएफमाथि ४–२ गोल अन्तरको जित निकाल्दै एकै पटक लिगमा ४ स्थान सुधार गर्न सफल रह्यो ।

सकंटा पाँचौं चरणको जितसँगै तालिकाको सातौं स्थानमा उक्लिएको छ । अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र पुछारको फ्रेण्ड्स क्लब भिडेका थिए । जसमा आर्मीले फ्रेण्ड्समाथि १–० को साँघुरो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । छैटौं चरणका खेलहरु अब शनिबारदेखि शुरुहुने छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया