राजीनामा दिनेबारे जानकारी छैन, भोलिको संसद बैठक चलाउँछु–उपसभामुख तुम्बाहाम्फे

 पुस २६, २०७६ शनिबार १९:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले आफूलाई राजीनामा दिन लगाउनेबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । 

नेकपा सचिवालय बैठकले उपसभामुख पदबाट राजीनामा दिन लगाउने निर्णयपछि उज्यालोसँग प्रतिक्रिया दिँदै उहाँले अहिलेसम्म आफूलाई राजीनामाबारे कुनै जानकारी नभएको बताउनुभएको हो । उहाँले आइतबारको प्रतिनिधिसभा बैठक आफैँले सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको भए पनि सभामुख कसलाई बनाउने भन्नेबारेमा भने निर्णय भैनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 उपसभामुखको राजीनामापछि मात्र सभामुखको टुंगो लाग्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएकाे हिउँदे अधिवेशनको बैठक बस्न सकेको छैन ।

यसअघि उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भएमात्रै उपसभामुख पदबाट राजीनामा दिने बताउँदै आउनुभएको थियो । सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक व्यवस्था भएकोले नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुखको चुनावमा जाने तयारी गरेको हो ।    

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया