नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा प्रतिनिधि सभाको बैठक फेरि स्थगित

 पुस २७, २०७६ आइतबार १३:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आउँदो माघ ६ गते बस्ने गरी स्थगित भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको टुङ्गो नलगाउँदा फेरि एक हप्ताका लागि सारिएको हो । संसद सचिवालयले सूचना टाँसेर बैठक आउँदो ६ गतेका लागि सारिएको जनाएको हो ।

सभामुख कसलाई बनाउने भन्ने बारेमा नै टुङ्गो नलाग्दा यसअघि गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आइतबारका लागि सारिएको थियो । 

नेकपाको सचिवालय बैठकले उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरे पनि उहाँले राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।सभामुखको उम्मेदवार चयन नभएसम्म उहाँ उपसभामुखबाट राजीनामा नदिने अडानमा कायमै रहनुभएको छ । 

उहाँले आजको बैठक आफै सञ्चालन गर्ने तयारी गरिरहेको बताए पनि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार पनि संसदलाई रिक्त बनाएर हिँड्न नमिल्ने भएकाले सभामुख को बन्ने भन्ने टुङ्गो लागेपछि मात्रै आफूले राजीनामा दिने उहाँको भनाइ छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा कुरो नमिल्दा संसद बैठक प्रभावित हुँदै आएको छ । 

यौन दुर्व्यवहारकाे अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेको चार महिना पुग्नै लाग्दा समेत नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया