इतिहासकै 'कन्जुस बलर', १३१ बलमा एक रन पनि दिएनन्

 पुस २७, २०७६ आइतबार १३:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बापु नादकर्णी टेस्ट क्रिकेट इतिहासमा यस्तो नाम हो, जसले अद्भुत कीर्तिमान बनाएका छन् । उनलाई सबैभन्दा 'कन्जुस बलर' का रुपमा पनि सम्झिने गरिन्छ । 

उनले टेस्ट क्रिकेटमा लगातार एक सय ३१ बलमा एक पनि रन नदिएर कीर्तिमान राखेका छन् । उनले ५६ वर्षअघि जनवरी १२ मा यो कीर्तिमान बनाएका थिए ।  

बापुले आफ्नो बायाँ हाते स्पीन बलिङको मद्दतमा सन् १९६४ मा मद्रासको नेहरु स्टेडियममा अङ्ग्रेज ब्याट्सम्यानलाई रन लिन निकै मुश्किल स्थितिको सिर्जना गरेका थिए । 

यही मैदानमा खेलिएको टेस्ट म्याचमा उनले एकपछि अर्काे गर्दै एक सय ३१ बल गरे, जसमा उनले एक रन पनि बनाउन दिएनन् । यो पारीमा उनले कुल ३२ ओभरमा २७ मेडन राखे, जसमा लगातार २१ ओभर मेडन थियो । 

उनले ३२ ओभर गर्दा जम्मा पाँच रन मात्र दिए । उनको बलिङ स्पेल यस्तो थियो : ३२ ओभर–२७ मेडन–५ रन–० विकट । 

उनी नेट्समा अभ्यास गर्दा सिक्का राखेर बलिङ गर्दथे । टेस्ट करियरमा उनको १ दशमलव ६७ रन प्रतिओभरको इकोनमी छ । उनले ४१ टेस्ट खेल्दा ९१६५ बलमा २५५९ रन दिँदै ८८ विकेट लिएका छन् । 

क्रिकेटको सबै विधामा निपुण बापुले ब्याटिङ पनि राम्रै गर्थे, उनी प्रभावशाली फिल्डर पनि थिए । उनले इंग्ल्याण्डविरुद्ध सन् १९६३–६४ सिरिजमा कानपुरमा अविजित एक सय २२ रन बनाउँदै भारतलाई हारबाट बचाएका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया