छाउ हुँदा घरमा बस्न नदिने हजुरआमा फेरिनुभयो, अरु किन सक्दैनन् ?

 माघ २, २०७६ बिहिबार १६:५९:३८ | इन्द्रसरा खड्का
unn.prixa.net

झण्डै पाँच वर्षपछि गएको दशैँमा म घर गएँ । त्योभन्दा पहिले आफ्नै कामले घर जाने मौका नै मिलेको थिएन । घर नगए पनि सञ्चो, बिसञ्चोको खबर भने दिनहुँ हुन्थ्यो । 

घर पुग्दा घरको एउटा कोठा, जहाँ कुनै सामान थिएन । थियो त एउटा खाट, अनि ओढ्ने ओछ्याउने । मैले बहिनीलाई सोधेँ– यो कोठामा को बस्छ ? बहिनीले सजिलैसँग भनिन्, ‘यो त हामी महिनावारी हुँदा बस्ने कोठा हो ।’

म छक्क परेँ । ओहो यस्तो पो ! हुन त महिनावारी हुँदा बहिनी र आमा पनि छाउगोठमा नभएर घरमै बस्नु हुन्छ भन्ने फोनबाटै सुनेको थिएँ । 
आफ्नै आँखाले भने दशैँमा देखेँ । मैले बहिनीलाई भनेँ, ‘तिमीहरु त कति भाग्यमानी है । छाउ भएको बेला पनि यसरी घरभित्रै बस्न पाउने ।’

यसो भनिरहँदा मलाई ती दिनको याद आयो । जहाँ एक्लै छाउगोठमा बस्नु परेको थियो । पुस माघको चिसोको दिन होस् या वैशाख, जेठको गर्मी । महिनामा पाँच दिन छाउपडी गोठमै बस्नु पर्थ्यो । 

गोठमा साथीहरु हुँदा त रमाइलो नै हुन्थ्यो । तर एक्लो भएको दिन निकै डर लाग्थ्यो । अहिले त रात परिसकेपछि घरभन्दा बाहिर निस्कन डर मान्ने मैले ती काला रातहरु एक्लै गोठमा कसरी बिताएँ होला ? अहिले त सम्झँदा पनि डर लाग्छ ।

मेरो बहिनीलाई छाउगोठमा बसेको अनुभव छैन । त्यसैले पनि उसलाई मेरो कुराले केही प्रभाव परेन । उनीहरुलाई घरभित्रै बस्न यस्तो बानी परिसकेको थियो कि पहिले म छाउपडी गोठमा बस्दा जस्तै ।

हजुरआमाले घरको एउटा कोठा बहिनी र आमाकै लागि छुट्याउनु भएको रहेछ । ता कि उनीहरु महिनावारी हुँदा बस्न सकून् । म आफैलाई अचम्म लाग्यो । साँच्चै मेरी हजुरआमा फेरिएकै हुन् त ? सुरुमा त विश्वास गर्नै गाह्रो भयो । 

म महिनावारी भएको बेला घरको चार सय मिटर वरिपरि आउन हजुरआमाले नै बन्देज गर्नु हुन्थ्यो । घरको मान्छे र गाईवस्तुलाई छुन त परकै कुरा, तरकारी र फलफूल लगाएको बारीमा समेत पाइला राख्न पाइँदैन थियो । यस्ताे बेलमा बारी सुक्ने, देवता रिसाएर अनिष्ट हुने भन्दै घरबाट झण्डै पाँच सय मिटरको दुरीमा राख्ने हजुरआमा अहिले कसरी फेरिनु भयो त ? 

मेरै मनमा हजारौँ प्रश्न उब्जे । महिनावारी भएको मान्छे हिँडेको बाटो नहिँड्ने, कसैले बोकेर ल्याएको खानेकुरा नखाने, यतिसम्म कि हामी आफैले महिनावारी भएकाले छोएको खाएको थाहा पाएमा समेत सुनपानी अथवा गाईको गहुँतले छर्कने हजुरआमा अहिले कसरी परिर्वतन हुनु भयो ? 

मैले सोधेँ, कसरी फेरिनु भयो बज्यै ? उहाँले सजिलैसँग उत्तर दिनुभयो, ‘जमानाअनुसार चल्नु पर्छ । अब पहिलेको जस्तो छैन नि । पहिले हिजोआज जस्तो थिएन । हामी सबै गोठमा बस्थ्यौँ । केही डर हुन्न थियो । अहिले त जङ्गली जनावर, भूतप्रेतभन्दा मान्छेको डर बढी छ । यस्तो अवस्थामा किन तिमीहरुलाई अलग राख्ने ?’ 

हजुरआमाको मुखबाट यस्तो कुरा सुन्दा कतै सपना त देखिनँ जस्तो लाग्यो । 

सपनामा होइन बिपनामै बोलिरहनु भएकी हजुरआमाले थप्नुभयो, ‘म अहिले पनि तिमीहरु महिनावारी हुँदा तिमीहरुले पकाएको खान्न र छुन्न पनि । तिमीहरुले पनि जानीजानी मलाइ नछुनु किनकि यो पनि मेरो अधिकार हो ।’

वा मेरी हजुरआमा त आफ्नै अधिकारको कुरा गर्ने भइसक्नु भयो । म खित्का छोडेर हाँसे । आखिर मान्छे परिर्वतन त हुँदा रहेछन् नि ! 

फेरि हजुरआमाले भन्नुभयो, ‘तिमीहरु भित्रै बस, काम गर । तर छाउ भएको बेला म बसेको कोठामा नआउनु । किनकि म पहिल्यैदेखि यस्तैमा हुर्कें, बढेँ । अब अहिले सबै घरमै बस्छन् । समाजअनुसार त चल्नै पर्‍यो नि ।’ 

हजुरआमा यतिसम्म फेरिएपछि अरु के चाहियो त ? हो मलाई चाहिएको पनि यही थियो । मात्र हामीलाई सुरक्षित तरिकाले बस्न दिउन् । म हजुरआमाको कुरामा सहमत छु । हरेक मान्छेलाई स्वतन्त्ररुपमा जिउन पाउने अधिकार छ । मेरो हजुरआमाको पनि यस्तै अधिकार छ । 

म महिनावारी भएको बेला जानाजान उहाँलाई छुन जान्न । किनकि उहाँ पहिलेदेखि नै छुट्टै पकाएर खानु हुन्छ । उहाँको आफ्नो कोठा छुट्टै छ । उहाँको त्यो कुराले हामीलाई कुनै असर परेको छैन भने किन हामीले उहाँलाई जबरजस्ती छुन जाने ? 

मेरो हजुरआमा त सजिलै जमानाअनुसार फेरिनु भयो भने अरु किन फेरिन सक्दैनन् ? छोरी बुहारीलाई छाउगोठमा राख्नैपर्छ भन्ने पक्षमा धेरै छैनन् । जो छन्, उनीहरुलाई सचेत गर्न नसकिएको मात्र हो ।

जो अहिले पनि छाउपडीलाई घरमै राख्न सहमत छैनन्, उनीहरुले कस्तो सचेतना पाएका छन् त ? मलाई लाग्छ शिक्षा, सचेतनाबिना छाउपडी गोठ हट्दैनन् ।

मेरो घर अछाम जिल्लाको अहिलेको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा पर्छ । यसअघिको षोडशादेवी गाविस वडा नम्बर ८ हो । २०७० साल पुस १४ गते त्यो वडा छाउपडी गोठमुक्त घोषणा भएको थियो ।

त्यतिखेर समविकास नेपाल भन्ने संस्थाले छाउपडीको बारेमा सचेतना दिन्थ्यो । त्यसमा काम गर्नेहरुले दिने सूचना थियो, छाउ भएको बेला घरमा बस्ने मात्रै हैन खाना पकाउने, मन्दिर जाने, पूजाआजा सबै काम गर्नु पर्छ । 

म ठोकुवाका साथ भन्छु यस्तै सूचनाले अछाम जिल्लामा अहिलेसम्म महिनावारी हुँदा गोठमा राख्ने चलन कायमै रहेको हो । 

महिनावारी भएको बेला घर वरिपरि आउन बन्देज लगाउनेहरुले कसरी घरभित्रै बसेर खाना पकाउन सक्छन् ? गोठमा हैन कसैलाई नछोएर घरकै छुट्टै कोठामा मात्रै बस्नु भनेको भए अहिले हैन, २०७१ सालमै अछाम जिल्लामा छाउगोठ हटिसक्थे । 

सबैभन्दा पहिले बाहिर जोखिममा रहेका किशोरी, महिलालाई घरमै सुरक्षित राख्न सक्नु पनि ठूलो परिवर्तन हो । घरकै छुट्टै कोठामा बस्न सक्यो भने बिस्तारै घरभित्रको काम गर्दै जाने कुरा आफै हुन्छ । 

छाउपडी गोठ र यसमा बस्नु पर्दाको जोखिमबारे राम्रोसँग चेतना दिन सक्यो भने कसैले गोठ भत्काउन निर्देशन नै दिनु पर्दैन । जिल्लामा बसेर नागरिकलाई सुरक्षा दिने प्रहरी, प्रमुख जिल्ला अधिकारीहरुले गाउँगाउँ पुगेर गोठ भत्काउनै पर्दैन ।

छाउपडीसम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले कसरी, कस्तो मान्छे, कस्तो ठाउँमा काम गरिरहेका छन् भन्ने निगरानी र अनुगमन मात्रै गर्ने हो भने पनि समाजमा ठूलो परिवर्तन हुन्छ । 

यदि अझै पनि सचेतना नदिएर गोठ भत्काउने काम मात्रै गर्ने हो हो भने फेरि गोठ ठडिने छन् ।

मेरी हजुरआमा त परिवर्तन हुनुभयो भने अरु किन परिवर्तन हुन सक्दैनन् ? अझै पनि घरमा बस्न जसले मान्दैनन्, उनीहरुलाई एक पटक हैन, दुई पटक मात्रै सम्झाऔँ । गोठमा बस्दा के हुन्छ ? कसरी जोखिममा पर्छन् ? यस्तो सचेतना घरदैलोमै पुगेर दिने हो भने छाउगोठ मात्रै हैन, छाउपडी कुप्रथा नै हट्नेछ । 

अन्तिम अपडेट: जेठ २७, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया