जाँगर र सीप चाहिन्छ : पैसा कमाउन कही जानुपर्दैन

 माघ ३, २०७६ शुक्रबार ११:५६:२९ | रासस

काठमाण्डौ – काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का  जगतबहादुर सेनले दुई वर्ष मलेसियामा बिताउनुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो । 

उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । उहाँ दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किनुभयो ।

उहाँले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बुन्नुभयो । व्यवसाय शुरु  गर्नुभयो । ‘गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा पाँचलाख रुपैयाँ कमाई गरेँ,’ जगतबहादुर भन्नुहुन्छ ।

घरमा खर्च चलाउन मुस्किल भएपछि पढाइ बिचमै छाडेर उहाँ वैदेशिक रोजगारमा होमिनुभएको थियो । ‘विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ’, उहाँले अनुभव सुनाउँदै भन्नुभयो । 

उहाँको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् ।  ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गर्नुभएका उहाँले भन्नुभयो, ‘सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिनुभएको छु ।’

पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी तीन लाख रुपैयाँ ऋण सहयोगसमेत गरेको छ । 

रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउनुहुन्छ । ‘विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ’, उहाँले भन्नुभयो ।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो ।  बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् ।

विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिनुभयो । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उहाँको बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया