वैदेशिक रोजगार विभागको अनलाइन सेवामा समस्या : व्यवसायी भन्छन्- आर्थिक भार थपियो

 माघ ३, २०७६ शुक्रबार १५:९:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या आउँदा श्रम स्वीकृति लगायत अनलाइनबाट हुने काममा समस्या भएको छ । 

सर्भरमा समस्या आएकाले कहिले विस्तारै चल्ने र कहिले नचल्ने भएकाले आजै उडान हुनेहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको वैदेशिक रोजगार विभाग ताहाचल कार्यलयका निर्देशक सुरेश जोशीले बताउनुभयो । 

माघ १ गतेदेखि नै सर्भरमा समस्या आएकाले कहिले चल्ने कहिले नचल्ने भइरहेको विभागका सूचना अधिकार भोलानाथ गुरागाईँले जानकारी दिनुभयो । ‘मर्मतको काम भइरहेको छ, अनलाइनबाट समय लिनुभएका र उडान आजभोली नै हुनेहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, सूचना अधिकारी गुरागाईँले भन्नुभयो, ‘विभागले भोली पनि सेवा दिने छ ।’

शनिबार नै उडान भएका सेवाग्राहीलाई मध्येनजर गर्दै हामीले बिमा र बैंकसँग पनि अनुरोध गरिरहेका छौं, यदी उहाँहरुले पनि मान्नुभयो भने शनिबार पनि कार्यालय खुल्ला गरेर सेवा दिनेछौं,’ ताहाचल कार्यालयका निर्देशक जोशीले भन्नुभयो । 

विभागको सर्भरमा समस्या आउँदा म्यानपावर व्यवसायीसँगै श्रमिकलाई पनि थप आर्थिक भार थपिएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङ बताउनुहुन्छ । 

‘रोजगारदाताले पठाएको टिकट रद्ध भएपछि म्यानपावरले नै त्यसको जिम्मा लिन पर्ने अवस्था छ, श्रमिकलाई पनि काठमाण्डौमा होटलमा बस्नुपर्दा खर्च बढेको छ,’ उहाँ भन्नुहुन्छ ‘गन्तव्य देशमा पनि श्रमिक समयमा नपुग्दा लिन आउनेदेखि काममा लगाउने कुरामा पनि समस्या भएको छ ।’ जनवरी १ देखि विभागले वैदेशिक रोजगारीको सबै काम अनलाइनफर्मत हुने व्यवस्था लागू गरेको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया