कोरोना भाइरसको सङ्क्रमण फैलिदै, दक्षिण कोरियामा पनि भेटियो भाइरसकाे सङ्क्रमण

 माघ ६, २०७६ सोमबार १९:२६:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - चीनको वुहान शहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’को सङ्क्रमण दक्षिण कोरियामा पनि भेटिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ रहेकाे पुष्टि भएको हो ।

अस्पतालमा अन्य बिरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ । याे रोगको सङ्क्रमण जनवरीको सुरूमा चीनकाे वुहानमा पत्ता लागेको थियो ।

यो जिवाणु सङ्क्रमित बिरामी निमोनिया र अन्य श्वासप्रश्वास सम्बन्धी समस्या भएजस्तै देखिने गर्छ । यसैबीच चीनमा ‘कोरोनोभाइरस’का कारण सोमबारसम्ममा तीन जनाको ज्यान गएको छ । चीनले करिब १४० जनामा यो रहस्यमयी रोग लागेको पुष्टि गरेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले याे रोगको सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको र क्वाङडोङमा पनि एक बिरामीमा समस्या पाइएको बताए । यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य शहरमा पनि फैलिएको पुष्टि भएको छ ।

यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया