बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्रीकाे आग्रह

 माघ ७, २०७६ मंगलबार १४:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले १५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताउनुभएको हो । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाडनु पर्‍यो भनेपनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्‍यो, बैंकको नाफा २ अर्ब भएपछि व्यवसायिक साथीहरुलाई आखा लाग्छ, ओहो ! २-२ अर्ब नाफा, ३-३ अर्ब नफा ४-४ अर्ब नाफा अनि पूँजी कति छ हिसाब नगरिदिने ।’  

उहाँले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुनेसमेत बताउनुभयो । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाउ, रेमिट्यानस पनि एकदमै धेरै ल्याउ, व्यापार घाटा एकदमै कम गर, राजश्व पनि एकदमै धेरै बढाईहाल, निक्षेपको ब्यज धेरै देउ, कर्जाको ब्याज त्यो भन्दा कम राख यस्ता कुराले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौँ ।’

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । उहाँले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्नेगरी ऋण लगानी गर्न आग्रह समेत गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भएकोसमेत बताउनुभयो । उहाँले निष्कृय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गर्नुभयो ।

उहाँले वित्तीय क्षेत्रमा आएको प्रतिस्प्रधात्मक सुधारको अवस्थाले नै यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएकोसमेत बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया