किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई सरकारकाे पत्र

 माघ ८, २०७६ बुधबार १७:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले किसानको बक्यौता भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई पत्रचार गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने निर्णय गरेको सहसचिव भटराईले बताउनुभयो । अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले भाडामा लिएर सञ्चालन गरेका हुन् ।

यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेर सम्पर्कमा नआएका उद्योगीहरुलाई सम्पर्कमा ल्याउन अनुरोध गरेको छ । बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाँडसरी चिनी मिल्स प्रालि सम्पर्कमा आएका छैनन् ।

मंगलबारसम्ममा सबै चिनी मिलले किसानको बक्यौता भुक्तानी दिने भने पनि १६ प्रतिशत मात्रै भुक्तानी दिएको मन्त्रालयले जनाएको छ । किसानले विभिन्न आठ वटा उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया