माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

 माघ ८, २०७६ बुधबार १७:५६:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ ।

सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६-०७७ मा सञ्चालन गरिने कार्यक्रमको बुधबार सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्ने अवस्थामा रहेका बजेट रकम फिर्ता गर्न निर्देशन दिनुभयो ।

त्यसरी बाँकी देखिएका रकम अन्य सेवा र कार्यक्रममा लगाउन सकिने बताउँदै उहाँले सुरुआत नै गर्न नसकिएका कामको बजेट कायम राखेर जाम गर्नु अनुचित हुने र त्यस्तो गर्ने निकाय वा विभागीय प्रमुखलाई विभागीय कारबाही गरिने स्पष्ट गर्नुभयो ।

मन्त्री बाँस्कोटाले मन्त्रालयको समष्टिगत पुँजीगत खर्चको रकम थोरै भए पनि तोकिएको रकम समयमै खर्च हुन नसक्नाको कारण बताउन निर्देशन दिँदै भन्नुभयो, ‘जे काम गर्न प्रतिबद्ध भएको हो, त्यसमा खर्च हुनै पर्छ । हुनै नसक्ने कामको सूची तयार गरेर तीनचार दिनभित्र पेश गर्नुस् । काम गर्न थालेपछि रकम अपुग भएमा अर्थ मन्त्रालयले विचार गर्छ ।’

मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘स्वीकृत कार्यक्रम र बजेट नछुट्टिइकन जथाभावी खर्च गर्न पाइँदैन । रकम बाँकी राखेर आर्थिक वर्षको अन्तिममा सभा,गोष्ठी गरेर भए पनि खर्च गर्ने प्रणालीको अन्त्य हुनुपर्छ ।’

उहाँले रेडियो नेपालको जग्गा नेपाल दूरसञ्चर प्राधिकरणलाई बिक्री गर्ने निर्णय कार्यान्वयनमा भएको ढिलाइबारे एक साताभित्र टुङ्गो लगाउन, सामाजिक सञ्जाल फेसबुक आदिबाट भइरहेको खर्च र आम्दानीमा राजश्व र करका सम्बन्धमा रायसुझाव दिन अध्ययन समिति गठन गर्न र नेपाल टेलिभिजनको अङ्ग्रेजी वल्र्ड च्यानल सञ्चालनको खाका ल्याउन नेपाल टेलिभिजनका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव दीपक सुवेदीसहितको बैठकमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले मन्त्रालयमा विचाराधीन राससको संशोधित विनियमावलीलाई चाँडो स्वीकृत गरिदिन आग्रह गर्दै रासस केन्द्रीय कार्यालयको नवनिर्मित समाचार भवनका लागि तत्काल नयाँ फर्निचरका लागि बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष अधिकारीले छिमेकी चीनको बेजिङ र भारतको नयाँदिल्लीमा स्थायी समाचारदाता राख्नेसम्बन्धी प्रस्ताव मन्त्रालयमा पेश गरिएको समेत अवगत गराउनुभयो । उहाँले रासस स्थापना विसं २०१८ फागुन ७ देखि २०५२ सालसम्मका स्क्यान गरिएका नेपाली समाचार (बुलेटिन) इमेज फम्र्याटमा रासस अनलाइनमा अभिलेखीकरण गरिएको पनि जनाउनुभयो ।

बैठकमा मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायमध्ये चारबाहेक अन्य निकायले अर्धवार्षिक समीक्षा प्रस्तुत गरेका थिए । मन्त्रालयका सहसचिव राधिका अर्यालले प्रस्तुत गरेको विवरणमा सो मन्त्रालयको चालु आवका लागि विनियोजित बजेटमध्ये हालसम्म चालूतर्फ ४५ दशमलव ४१ र पुँजीगतमा २४ दशमलव ०८ प्रतिशत मात्र खर्च हुन सकेकोे जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया