कोरोना भाइरसबाट नेपाल सुरक्षित छ भन्ने सन्देश फैलने गरी काम गरौँ : मन्त्री भट्टराई

 माघ १३, २०७६ सोमबार ९:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल कोरोना भाइरसबाट सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा पर्ने असरबारे सरकारी र निजी क्षेत्रका प्रतिनिधिसँग सोमबार बिहान मन्त्रालयमा भएको छलफलमा उहाँले पर्यटक आउने र चहलपहल हुने ठाउँमा उच्च सतर्कता अपनाउन पनि निर्देशन दिनु भएको छ ।

मन्त्री भट्टराईले नेपाल कोरोना भाइरसको भयावह अवस्थामा नहरेको भन्दै भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको पनि बताउनु भयो । उहाँले विमानस्थलमा खटिने सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्यरुपमा लगाउन निर्देशन दिनुभयाे । 

‘त्रिभुवन विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर हेल्प डेस्कको विस्तार गर्नुहोस्, विमानस्थलमा आउने यात्रुको सुक्ष्म निगरानी गर्नुहोस्, चीनबाट आएका यात्रुलाई सकभर भिडभाडमा जान नदिनुहोस्’ मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले काठमाण्डौ मात्र नभइ पोखरा, लुम्बिनी, सौरहालगायतका क्षेत्रमा पनि कोरोना जाँचको लागि अस्पताल तोक्ने र थप सतर्कताकासाथ काम गर्नुपर्ने बताउनु भयो ।

छलफलमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कोरोना भाइरसको जाँच गर्न विमानस्थलमा हेल्प डेस्क रहेको र शङ्का गरिएका यात्रुको स्वास्थ्य जाँच गर्ने काम भैरहेको बताउनु भयो । शङ्का लाग्ने बित्तिकै एम्बुलेन्समा राखेर अस्पताल लैजाने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

होटल एसोसिएशन अफ् नेपालका अध्यक्ष सिर्जना राणाले विमानस्थलमा पर्याप्त सतर्कता नअपनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  छलफलमा  पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिले कोरोना भाइरसकै कारण नेपालको पर्यटन क्षेत्रमा मन्दी नहुने गरी काम गर्न सुझाव दिएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया