ए डिभिजन लिग : पुलिससँग एपीएफ १-० ले पराजित

 माघ १३, २०७६ सोमबार १४:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार भएकाे खेलमा विभागीय टाेली एपीएफलाई हराउँदै अर्काे विभागीय टाेली नेपाल पुलिस क्लब विजयी भएको छ । साेमबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई एक शुन्य गाेल अन्तरले हराएकाे हाे ।

जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँचमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो । खेलको छैटौं मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाए ।

त्यसपछि ११ औं मिनेटमा पुलिसले पेनाल्टी पायो । निरकुमार राईको कर्नरबाट आएको बललाई भरत शाहले हान्न खोज्दा एपीएफका राजन गुरुङले डिबक्समा लडाएका थिए । जसका कारण पुलिसले पेनाल्टी पायो । पेनाल्टीकाे माैकालाई भोलानाथ सिलवालले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाए ।

एक गोलले पछि परेको एपीएफले ३९ औं मिनेटमा बराबरी गर्ने मौका पाएको थियो । एपीएफका आशिष लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

४२ औं मिनेटमा एपीएफका रमेश दंगालीको प्रहार पनि पोष्ट नजिकैबाट आउट भयो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले ४९ औं मिनेटमा राम्रो अवसर खेर फाल्यो ।

पुलिसका रवी पासवानको पासमा निरकुमार राईले गरेको प्रहारलाई एपीएफका सुदिप सिख्राकारले गोललाइनबाट बचाए । त्यसपछि एपीएफ खेलमा फर्कन सकेन भने पुलिसले पनि पाएका मौकाको सुदपयोग गर्न सकेन ।

खेलको इन्जुरी समयमा एपीएफको प्रहारलाइ पुलिसका गोलकिपरले राेके । यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शीर्ष पाँचमा पुगेको छ ।

एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया