प्रधानमन्त्री ओलीकाे गुनासाे : 'डरलाग्दाे ढङ्गले सरकारविरुद्धकाे प्रचार आक्रमण अघि बढाइयाे'

 माघ १५, २०७६ बुधबार १५:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढङ्गले सरकारविरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गर्नुभएको छ । 

बुधबार काठमाण्डौमा नेकपाकाे केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले सरकारविरुद्ध प्रचार युद्ध मात्रै नभइ डरलाग्दाे गरी आक्रमण नै छेडिएको गुनासो गर्नुभयो ।

उहाँले सरकारविरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, 'हाम्रा विरुद्ध प्रचार युद्ध, प्रचार युद्ध मात्रै नभनुँ प्रचार आक्रमण डरलाग्दो गरि छेडिएको छ । तर हामी वादविवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिँदै आएका छौँ ।'

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिनु भएका प्रधानमन्त्री ओलीले वैचारिक आग्रह पूर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह पनि हुन सक्छ । त्यो पनि होला । तर हामी पूर्वाग्रहभन्दा माथि उठेर २१औँ शताब्दीमा मानवजातीले प्राप्त गरेको उपलब्धि, मूल्यमान्यताको धरातलमा आफूलाई प्रस्तुत गर्न चाहन्छौ ।'

उहाँले लोकतन्त्रलाई पूर्ण 'डेमोक्रेसी' को रुपमा अगाडि बढाउँदै न्याय र हक अधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।

उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रतालगायत विषयमा सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि बताउनु भयाे । उहाँले भन्नुभयो, 'हाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो ।' 

नेपाली काङ्ग्रेस, नेकपा तथा विभिन्न समूहले विभिन्न विषय र सन्दर्भमा समय समयमा हतियार उठाएको भए पनि नेपालको राजनीति अन्तताेगत्वा शान्तिपूर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उहाँले दाबी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मूल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उहाँले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकीकरणको व्यवस्था अनुरुप जाने ढङ्गले अगाडि बढेको पनि स्पष्ट पार्नुभयो ।

कोही पनि भोकै नमरोस् भन्नेतर्फ सरकार सजग र सर्तक भएको भन्दै उहाँले त्यही अभियानअनुसार काठमाण्डौका सडक मानवरहित भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'सडक मानव हुन दिएका छैनौँ । सडक बालबालिकाको अन्त्य गरेका छौँ । कोही पनि भोकै मर्ने स्थितिको अन्त्य गरेका छौँ । सम्मृद्धि हासिल गर्ने बाटोमा, विकासको बाटोमा, सुशासन कायम गर्ने बाटोमा, भ्रष्टाचार रोक्ने बाटोमा र भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा हामी छौँ । तर सम्पूर्ण पुर्वाधारको आधार तयार भैसक्यो भन्ने होइन ।'

नेपाल भ्रमण वर्ष २०२० लाई कोरोना भाइरसको सङ्क्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दै सरकारले आवश्यक सावधानी अपनाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,  'हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण वर्षको सुरुवातमा कोरोना भाइरसतिर सङ्केत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थिएँ, त्यो कसले कसरी बुझ्यो ?'

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्रीपछि बोल्नु भएका विपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का ? के को धक्का ? भनि प्रश्न गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया