ए डिभिजन लिग : संकटामाथि मनाङकाे तीन - शून्यकाे जीत, मछिन्द्रसँग अंक बराबरी

 माघ १५, २०७६ बुधबार १८:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी  क्लब विजयी भएको छ ।

नवौँ चरणको अन्तिम खेल अन्तर्गत मनाङले संकटामाथि ३–० गोलको जित दर्ता गरेको हो । जित दर्ता गर्दै मनाङले दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ ।

मनाङ र मछिन्द्रको समान १९–१९ अंक छ भने त्रिभुवन आर्मी २० अंकका साथ शीर्ष स्थानमा छ । सातदोबाटोमा भएको खेलमा मनाङले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरेको थियो ।

पहिलो हाफको ४१ औँ मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेपछि मनाङले अग्रता लियाे । त्यसैगरी अन्जन विष्टले फेमीको पासमा ४३ औँ मिनेटमा गोल गर्दै मनाङकको अग्रता दोब्बर पारे । ७१ औँ मिनेटमा निशान लिम्बुले गोल थपेपछि मनाङ सहज जिततर्फ अगाडि बढेको हो ।

त्यसअघि खेलको ७ औँ मिनेटमा अन्जन विष्टको प्रहार संकटाका डिफेन्डरले रोकेका थिए । १५ औँ मिनेटमा मनाङले पाएको फ्री किक संकटाका गोलकिपरले बचाए । खेलको १९ औँ मिनेटमा संकटाले पाएको मौकालाई सदुपयोग गर्न सकेन । मनाङका गोलकिपर बिट भैसकेको अवस्थामा संकटाका बिमल राणा गोल गर्न चुके ।

त्यस्तै २३ औँ मिनेटमा मनाङका निशान लिम्बूको प्रहार संकटाका गोलरक्षकले बचाए । खेलको २६ औँ मिनेटमा संकटका कर्म सुब्बाले प्रहार गरेको बल मनाङका मिडफिल्डर भिडालले फर्काए ।

पहिलो हाफ सकिँदासम्म गोल फर्काउन नसकेपछि संकटा मनाङविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको थियो ।

त्यस्तै दोस्रो हाफमा पनि लयमा फर्कनका लागि संकटाको प्रयास जारी रह्यो । खेलको ६८ औँ मिनेटमा संकटाका सुभाष गुरुङको फ्री किक प्रहारमा मनाङका डिफेन्डिङ वाल बाधक बन्यो ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा मनाङका खेलाडीले फल गरेपछि संकटाले फ्री किक पाएको थियो तर सदुपयोग गर्न नसकेका कारण  मनाङसँग पराजित हुन पुग्यो ।

यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै शीर्ष तीनमा प्रवेश गरेको छ भने संकटा १२ अंकसहित आठौँ स्थानमा रहेको छ । मनाङ र संकटाबिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै  मनाङका अन्जन विष्ट केल्मि म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया