'छाउगाेठकाे नाममा घर भत्काउन पाइन्छ ? चाहिँदाे काम गर्नुपर्‍याे नि !'

 माघ १७, २०७६ शुक्रबार १३:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सांसद गजेन्द्रनारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाउनु भएको छ । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उहाँले गृह मन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाउनु भयो । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको आरोप पनि उहाँले लगाउनु भयो ।

उहाँले भन्नुभयो, 'हाम्रो गाउँ घरतिर उखान छ । काम नपाए बुहारी कुकुरको पुछ कन्याउ । अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काइएका छन् । एउटा व्यक्तिकाे ज्यान गयाे भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जनाकाे होटलमा ज्यान गएकाे छ । होटल भत्काउँदै हिँड्ने ? हजारौँ मान्छेकाे बस दुर्घटनामा ज्यान गएकाे छ । के अब बस ताेडफाेड गर्दै आगो लगाउँदै हिँड्ने ? यो पनि तरिका हाे ? चाहिँदो काम गर्नुपर्‍याे नि ।'

जिल्लामा जाने नुन, औषधि बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनु छैन । पुलको बेहाल छ, बाटोको बेहाल छ, उनीहरुलाई समाउनु छैन । ठेकदार कहाँ छ, कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ ? अस्पतालको अवस्था के छ ? त्यो हेर्नु पर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृह मन्त्रालय ? काम पाएको छैन यसले ?' उहाँले भन्नुभयाे ।

उहाँले छाउगोठ भत्काइएकाे विराेधमा आफ्नो भनाइ राख्दै गर्दा प्रतिनिधि सभा बैठक हाँसोले गुञ्जायमान भएको थियो । छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरु पनि हाँसिरहेका थिए ।

सुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिइँदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एअरपोर्टको तल्लो क्षेत्रमा रहेको  हजारौँ हेक्टर जग्गाको सिँचाइको व्यवस्था के हुन्छ ?  परियोजनाको वातावरण अध्ययन मूल्याङ्कन प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? विस्तृत प्रतिवेदन सार्वजनिक गरियोस् । मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोलादेखि भैसेसम्मको टेण्डर किन रोकिएको छ । त्यो तुरुन्त खुलाइयोस् । रुपाताल परियोजनाको सम्पूर्ण कार्य सञ्चालन गरियोस् ।' 

त्यसैगरी सांसद आशाकुमारी विकले काठमाण्डौ महानगरभित्र रहेका ६० वटा शाैचालयमध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यस्तै सांसद इन्दुकुमारी शर्माले चुरे दोहन उत्खनन रोक्न माग गर्नुभयो ।

सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउँपालिका निवासी २२ वर्षीय हेमबहादुर राउतलाई पक्राउ गरी कोटेश्वर प्रहरी वृत्तमा राखिएकाे अवस्थामा ज्यान गएकाे भन्दै घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गर्न माग गर्नुभयो । उहाँले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद कुमारी तुलसी थापाले हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया